बागलुङ/गत आर्थिक बर्ष सामाजिक बिकास कार्यालय बागलुङले भकुण्डे स्थित चौतारेडाँडा माबिमा ट्रस्ट निर्माण ग¥यो । सोही प्रकृतिका धेरै काम सम्पन्न भए । रायरायकोटमा प्रतिक्षालय बनायो । बरेङ स्थित खड्ककोट देवीको मन्दिर पनि बनायो ।
बडिगाडको थानापति मन्दिर बनाएको कार्यालयले बाल अधिकार सम्बन्धी र लागूपदार्थ दुव्र्यसन सम्बन्धी वक्तृत्वकलाका सहभागिलाई पुरस्कार दिने जिम्मेवारी पनि लियो । समाजका सबै क्षेत्रको काममा हात हालेर एकैबर्ष १ सय ४५ वटा पुर्वाधार बिकासका काम गरेको छ ।
सामाजिक बिकासको क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य भएपनि मठमन्दिर निर्माण, बिद्यालय भवन निर्माण र मर्मत तथा खेलमैदान लगायतका क्षेत्रमा काम गर्दै आएको कार्यालयका प्रमुख हिमाल घर्तीमगरले बताए । गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा धेरै मठमन्दिरमा लगानी गरेको छ । तथ्यांक अनुसार १० वटा मन्दिर निर्माण गर्दा १५ वटा मठमन्दिरको स्तरउन्नती समेत गराएको हो ।
त्यस्तै कार्यालयले गत बर्ष १० वटा बिद्यालय भवन निर्माण गरेको छ । बिद्यालयमा घेरावार २२ स्थानमा गराएको छ । ५ वटा खेलमैदान निर्माण गरेको छ भने ६ वटा बिद्यालय स्तरउन्नती र ६ वटाको ट्रष्ट निर्माण गरेको हो । सोही अबधिमा ३ वटा पार्क, १ घाट, ७ शौचालय र ५ वटा कवर्डहल निर्माण गरेको घर्तीले जानकारी दिए ।
बालक्लब र संजाल गठनमा आर्थिक सहयोग, बालअधिकार, महिला तथा दलीत र जनजातीहरुको क्षेत्रमा अधिकारमुखी अवधारणाका कार्यक्रम संचालन गर्ने गैरसरकारी संस्थालाई सहयोग प्रदान गर्ने, सरकारी निकायले आयोजना गर्ने प्रतियोगिताहरुमा पुरस्कारको व्यवस्थापन गर्ने काम पनि कार्यालयले गरेको हो । प्राथमिक तथा माध्यामिक बिद्यालयमा पुस्तकालय निर्माण, बाल उद्यान, खेल सामाग्री खरिद लगायतमा पनि कार्यालयले काम गरेको हो । ‘जिल्लाभर छरिएर काम गरेका छौं’ घर्तीले भने, ‘सामाजिक बिकासको काम भएपनि पुर्वाधार तर्फ पनि उत्तिकै काम गर्नु परेको छ ।’ पुर्वाधारमा सानो सानो लगानी गर्दा सोचेझै प्रतिफल नआएको उनले बताए ।
सामाजिक बिकास कार्यालयले गर्ने कामलाई कतिपयले टुक्रे योजनाको कार्यान्वयन गराउने स्थान भएको पनि टिप्पणी गरेका छन् । गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुले उक्त कार्यालयको बजेटलाई एकमुष्ट बनाएर ठूला योजनामा लगाउन आग्रह गरे । ‘काम त गरेकै छ, तर देखिने गरी बितरण गर्दा राम्रो हुन्छ’ बागलुङ नगरपालिका वडा नंं २ का सदस्य अर्जुन घिमिरेले भने, ‘उद्देश्य अनुसारका काम गर्दा प्रभावकारी हुन्छ ।’ सामाजिक क्षेत्रको बिकासकालागि काम गर्ने कार्यालयले सोही प्रकृतिका जनशक्ती पनि राख्नुपर्ने उनले सुझाए ।
कार्यालय प्रमुख घर्तीमगरले पनि कर्मचारी अभावले एकैजनाले धेरै कार्यक्रम र योजना हेर्नु परेको बताए । उनले आगामी दिनमा कार्यालयलाई साधनश्रोतले दक्ष बनाउने वा अन्यत्रै गाभेर जाने भन्नेमा मन्त्रालयमा छलफल भैरहेको बताए । ‘प्रभावकारी काम गर्ने गरी केही परिवर्तन हुँदैछ’ उनले भने, ‘एउटा योजनाको काममा ५० हजार सम्मको बजेट छ, त्यो साह्रै अपुरो हो ।’ स्थानीय तहको शिक्षा शाखा, पर्यटन कार्यालय, सामाजिक बिकास कार्यालय, पुर्वाधार बिकास कार्यालय र स्थानीय तहले गर्ने प्रकृतिका सबै काम सामाजिक बिकासमा राख्नुभन्दा बिशेष प्रकृतिका कार्यक्रम मात्र संचालन गर्न सकेमा प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।





