बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लेकसिटी कलेजमा ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

लेकसिटी कलेजमा ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार

पोखरा/पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजनाअन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ ।

मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको बीएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् ।

कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् । ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं,’ अध्यक्ष प्रा. डा. पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ ।

त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायणकुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ ।

विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दूतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ ।

लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकीतर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बीएएसडब्लु (समाजिक कार्य) विषयमा पठनपाठन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->