बागलुङ/सत्ता र शक्तिको आडमा देशमा भष्ट्रचार मौलाउँदै गएको भन्दै राष्ट्रिय जनमोर्चा भष्ट्रचार नियन्त्रणको आन्दोलनमा होमिएको छ । ‘बढ्दो भष्ट्रचार नियन्त्रण गर, भष्ट्रचारीलाई कारवाही गर’ भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाले आन्दोलन शुरु गरेको हो । केन्द्रिय समितिको कार्यक्रमअन्तर्गत बागलुङका सबै पालिकामा भष्ट्रचार बिरुद्धको कार्यक्रम गरिएको जनमोर्चा बागलुङले जनाएको छ ।
बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले राजनैतिक दलको संरक्षणमा सांगठनिक रुपमा भष्ट्रचारको श्रृंखला अघि बढेको भन्दै यसका बिरुद्ध नागरिक एकजुट हुनुपर्ने बताए ।
भष्ट्रचारीलाई कारवाही गर्ने निकाय नै मौन बसेको अवस्थामा आम जनताले भष्ट्रचार र भष्ट्राचारीको विरुद्ध आवाज उठाउनुपर्ने अवस्था आएको उनको भनाई थियो । भष्ट्राचारका कारण आम नागरिकको अवस्था कमजोर बन्दै गएको र आन्दोलनबाट प्राप्त सिमिति उपलव्धी पनि गुम्ने खतरा बढेको उनले बताए ।
संघियताका कारणले पनि यस्तो स्थिती सिर्जना भएको चर्चा गर्दै उनले संघियतालाई खारेज नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए । कार्यक्रममा जनमोर्चाका बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सल्लाहकार टेकबहादुर रोका आरसीले गरेका थिए ।





