पर्वत/सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ ।
जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो । मरेका बङ्गुरबाट निकालिएको नमुनालाई केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा लगेर परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्राविधिक प्रकाश परियारले बताए ।
करिब १०÷१२ दिन अगाडि जलजलाको एउटा ‘फार्म’ मा रहेका बङ्गुरहरू मरेपछि सुरक्षा सतर्कता सहित जिल्लाभर नै पूर्व सतर्कता अपनाउन भनिएको थियो । ‘पिसिआर रिपोर्ट’ ‘पोजेटिभ’ आएपछि जलजलाका फार्म वा अन्यत्रबाट मासु आयात गरेर कारोबार हुने ठाउँहरूमा समेत सङ्क्रमण फैलिन सक्ने भन्दै कार्यालयले जैविक सुरक्षाका उपायहरू अपनाउन भनेको थियो ।
पोखरा र तनहुँका केही बङ्गुर ‘फार्म’ हरूमा केही समयअगाडि नै ‘अफ्रिकन स्वाइन फिवर’ देखिएको र कुनै माध्यमले ती ‘फार्म’ वा त्यहाँ उत्पादित मासुको कारोबारका कारण जिल्लामा सङ्क्रमण भित्रिएको हुन सक्ने अनुमान गरिएको प्राविधिक परियारले बताए । ती क्षेत्रहरूबाट कुश्माका होटलहरुमा मासु आयात गर्नु, मासुका अंश बढी भएको वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुगेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
‘पोखरा र तनहुँका विभिन्न बङ्गुर फार्महरूमा यसअगाडि नै सङ्क्रमण देखिइसकेको छ । त्यहाँको मासु होटेलमा प्रयोग भयो । उक्त होटेलबाट निस्किएको फोहोर, फालिएको खानेकुरा तथा खानेकुरा सरसफाइ गर्दाको पानी बङ्गुरलाई दिइने दानामा मिसियो’, उनले भने, ‘होटेलमा फालिएको खानेकुरा लगेर बङ्गुरलाई आहाराको लागि दिँदा त्यसैबाट सरेको हुन सक्छ। तर यही नै कारणले सरेको भन्ने चाहिँ छैन ।’
जलजलामा फिवरको पुष्टि हुँदासाथ जलजलाका बङ्गुर ‘फार्म’हरूमा पुगेर जैविक सुरक्षाका लागि केही सामग्रीहरू कार्यालयले वितरण गरिसकेको छ । यो रोग लागेपछिको उपचार र सङ्क्रमण हुन नदिनको लागि खोप नभएकोले जैविक सुरक्षा नै उत्तम उपाय मानिएको छ । सोही अनुसार कार्यालयले पनि सम्भावित ‘फार्म’हरूमा सुरक्षाका मापदण्ड कार्यान्वयन गराउँदै अन्य स्थानमा पनि लक्षण देखिएमा ‘भेटेरिनरी’ अस्पतालमा सम्पर्क गरिहाल्न कृषकहरूलाई अनुरोध गरेको छ । मासुको ओसारपसारबाट नै यसको सङ्क्रमण फैलिने भएकोले सुँगुर र बङ्गुरको मासु वा अन्य पदार्थहरू ओसारपसार नगर्न आग्रह गरिएको छ ।
कार्यालयका निमित्त प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीले रोगी पशुसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित दानापानी तथा होटेल रेस्टुरेन्टबाट फालिएका सङ्क्रमित खानेकुरा र सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा फैलिने भन्दै रोग लागेमा सुँगुर र बङ्गुरको शत प्रतिशतसम्म मृत्यु हुने सम्भावना रहेको बताए । अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा उच्च ज्वरो आएमा, कान, पुच्छर पेटको तल्लो भागको बाहिरी छाला रातो भएमा, शरीरमा निलो धब्बा देखिएमा, खाना नखाएमा, बान्ता गरेमा, छेरेमा, छटपटाएमा, तुहिएमा तत्काल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा खबर गर्न उनको सुझाव छ ।





