म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका–७, बिममा रहेको प्रभुचेला धुरी धार्मिक आस्था, आध्यात्मिक साधना, प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनको नयाँ सम्भावनासहित विकासको थालनी भएको छ । पूर्वको पाथीभरा र पश्चिमको स्वर्गद्वारीसँगको सम्बन्धका कारण प्रभुचेला धुरीलाई धार्मिकस्थलको संगमका रूपमा समेत लिन थालिएको छ ।
स्वर्गद्वारी महाप्रभुका शिष्य कपिलानन्द गिरीले विसं १९७० सालतिर प्रभुचेला धुरीमा तपस्या गरेको विश्वास छ । स्थानीय स्तरमा पुस्तौँदेखि सुनिँदै आएको यो तपस्यासम्बन्धी कथासँग ऐतिहासिक आधारसमेत जोडिएपछि धुरीको धार्मिक तथा ऐतिहासिक महत्वबारे थप खोज र संरक्षणको कामअघि बढेको हो ।
प्रभुचेला धुरीमा प्रसिद्ध आयुर्वेदविज्ञ डा विपी तिमिल्सिनाले व्यक्तिगत रुपमै करिब ५० लाख लागतमा पाथीभरा माताको मन्दिर निर्माण गरेका छन् । २०८३ असार २५ गतेदेखि विशेष पूजा सुरु गरिएको मन्दिरमा असार २६ गते प्राणप्रतिष्ठा र २७ गते वैदिक अनुष्ठान भएपछि नियमित पूजापाठ भइरहेको छ । मन्दिरमा राखिएको मूर्ति ताप्लेजुङ स्थित प्रसिद्ध पाथीभरा मन्दिरको स्वरूपमा निर्माण गरिएको मालिका गाउँपालिका–७ का वडाध्यक्ष टकबहादुर पुनले बताए ।
वडाध्यक्ष पुनका अनुसार प्रभुचेला धुरीको प्राकृतिक वातावरण पनि उत्तिकै आकर्षक छ । चारैतिरका हरिया पहाड, विभिन्न वनस्पति तथा जडीबुटी, गुराँसका प्रजाति र मौसम खुलेका बेला देखिने धौलागिरि हिमशृंखलाले यहाँ पुग्नेहरूलाई आकर्षित गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको र शान्त वातावरण भएकाले योग तथा ध्यानका लागि समेत यो क्षेत्र उपयुक्त रहेको योगगुरु नवीन जुग्जालीले बताए ।
एउटा पत्रिकामा स्वर्गद्वारी महाप्रभुका शिष्यहरूले साधना गरेका स्थानबारे प्रकाशित सामग्री पढ्ने क्रममा उनले प्रभुचेला धुरीको नाम भेट्टाएका थिए । स्थानीय अग्रजहरूले सुनाउँदै आएको जोगीले तपस्या गरेको स्थानसँग उक्त विवरण मिल्न थालेपछि उनले थप खोज गरे । त्यस क्रममा प्युठान स्थित स्वर्गद्वारी पुगेर त्यहाँका गुरुहरूसँग समेत जानकारी आदानप्रदान गरेपछि प्रभुचेला धुरीको संरक्षण र विकास गर्ने अभियान अघि बढेको उनको भनाइ छ ।
हाल धुरीमा करिब ४० साधकले एकैपटक साधना गर्न सक्ने हल, हवन कुण्ड लगायतका संरचना निर्माण भएका छन् । स्थानीय ढुंगाको छाना प्रयोग गरिएको पिरामिड शैलीको साधना हलले मौलिक निर्माण सामग्री र आधुनिक शैलीलाई संयोजन गरेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।
धार्मिक गतिविधिलाई सामाजिक सेवासँग जोड्ने योजनासमेत अघि सारिएको छ । मन्दिरमा संकलन हुने भेटीको ५० प्रतिशत बालबालिकाको शिक्षामा खर्च गर्ने र बाँकी रकम मन्दिर संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधिमा प्रयोग गर्ने योजना रहेको योगगुरु जुग्जालीले बताए ।
बेनी–दरबाङ–बिम हुँदै पुग्न सकिने प्रभुचेला धुरीलाई तातोपानी कुण्ड र मालिकातर्फको पदमार्गसँग जोडेर धार्मिक तथा ग्रामीण पर्यटनको सर्किट विकास गर्ने सम्भावना रहेको अध्यक्ष गर्बुजाले बताए । यसले स्थानीय होटल, यातायात, कृषि उत्पादन, हस्तकला तथा अन्य व्यवसायको बजार विस्तारमा समेत सहयोग पुग्ने वडाध्यक्ष पुनको भनाइ छ ।
म्याग्दी उद्योग वाणिज्य संघ, मालिका बजार इकाइका उपाध्यक्ष अमृत सापकोटाले प्रभुचेलासँगै नजिकैको प्रसिद्ध धार्मिकस्थल मालिका धुरी, बाइन्दाफाँट बराह ताल र मालिका गाउँपालिका–६ स्थित भालेबास्ने ताललाई समेत समेटेर पर्यटन सर्किटका रूपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने बताए । मालिका गाउँपालिका–७ का स्थानीय रैप्रसाद जुग्जालीले प्रभुचेला धुरी धार्मिक र ऐतिहासिक दृष्टिले अध्ययन तथा अनुसन्धानका लागि समेत महत्वपूर्ण क्षेत्र बन्न सक्ने बताए ।





