रसुवाबाट सुरु भएको आकस्मिक भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै अहिले मुग्लीन तर्फ बढेको छ ।
नेपाल प्रहरीको जानकारी अनुसार धादिङको गल्छी आसपास बाढी आइपुगेको छ । अबको केहि समयमा मुग्लीनतर्रफ आइपुग्ने हुनाले सबैलाइ सचेत रहन आग्रह गरिएको छ ।
जसले पृथ्वी राजमार्ग, मुग्लीन– नारायणाघाट राजमार्ग संगै त्रिसुली नदीमा समेत जोखिम बढेको छ ।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानी अचानक भोटेकोशीमा प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बाढीले टिमुरे बजार, बस्ती तथा भन्सार क्षेत्रका संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवागढी, स्याफ्रुबेँसी, टिमुरे र मेलुङका प्रहरी युनिटमा समेत क्षति पुगेको छ भने केही प्रहरी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत उच्च जोखिम बढेको हो। बाढी नुवाकोटको बिदुर क्षेत्रभन्दा तलसम्म पुगेको र त्रिशूली नदी आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। त्रिशूली र मर्स्याङ्दी नदीको संगमस्थल मुग्लिन आसपासलाई समेत अत्यन्त उच्च जोखिम क्षेत्रका रूपमा हेरिएको हो। यसैबीच धादिङ प्रशासनले त्रिशूली नदी आसपास नजान र सम्भावित जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरेको छ। सडक यातायातमा समेत असर पर्न सक्ने भन्दै सावधानी अपनाउन भनिएको छ।
उद्धार तथा राहतका लागि नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा परिचालन भएको छ। सरकारले उद्धार तथा राहतका लागि हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बाढी असामान्य रूपमा अचानक आएको भएकाले यसको स्रोतबारे अझै यकिन भइसकेको छैन।





