आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सूचनाको हक सम्बन्धी पत्रकार र कर्मचारीबीच अन्तरक्रिया

सूचनाको हक सम्बन्धी पत्रकार र कर्मचारीबीच अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार

तस्बिर : सिर्जना पन्त
बागलुङ/बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले राज्यको काममा जनताले प्रश्न गर्न पाउने बताएका छन् । उनले नागरिक र पत्रकारिताले राज्यको राम्रा कामको प्रचार पनि गर्छन् भने कमीकमजोरीमा प्रश्न उठाउन पाउने अधिकार रहेको बताए ।

सूचनाको हक र सुशासनको सवालमा जिल्लाका सरकारी कार्यालय र स्थानीय पालिका समेतका सूचना अधिकारीसँग नेपाल पत्रकार महासंघको बैठकमा उनले संचार क्षेत्रले कमजोरी औल्याउँदा राज्यले थप सशक्त काम गर्न सक्ने बताए । जनताले गरेको जिज्ञाशाको जवाफ दिने गरी हरेक कार्यालयले कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ । उनले एकपटक उठेका प्रश्न अर्को पटक नउठ्ने गरी काम गर्न पनि सूचना अधिकारीलाइ निर्देशन दिए ।

कार्यालयको कामको जिम्मा भएर पनि सूचना अधिकारीहरुले थप जिम्मेवारी बहन गरेकोले सूचना थाहा पाएर बस्न पनि उनले आग्रह गरे । कार्यालय प्रमुखबाट समेत सूचना अधिकारीलाई सूचना प्रवाह नभएको हुन सक्ने भन्दै सूचना अधिकारी प्रष्ट बन्न सकेमा सुशासनमा टेवा पुग्ने गुरुङको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष रामबहादुर जिसीले सूचना लिने दिनेसँग कमीकमजोरी भएपनि सुशासनका लागि सूचनाको हकको प्रचलन नै उत्तम हुने बताए । सूचना नपाएकै ठाउँबाट सुशासनको प्रश्न उठ्ने उनको धारणा थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, सचिव नारायण रिजालको संचालन र सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकार प्रकाश बरालले प्रस्तुतीकरण गरे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी मोहन आचार्य, जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी केशव थापा, पत्रकार सुवास गौतम, डम्मर बुढामगर र रोहन जिसीले जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा सबै कार्यालयका सूचना अधिकारीहरु सहभागि थिए । सूचना माग्नेहरु पत्रकार मात्र नभइ आम नागरिक हुने भएकोले सूचना अधिकारी सचेत भएर सूचनामा जानकार भएर बसिदिंदा नागरिकको जिज्ञाशा र पत्रकारितापनि सक्षम बन्ने बताएका थिए । उक्त अवसरमा पारदर्शीता, लोकतन्त्र, विधिको शासन लगायतको सूचकका लागि पनि सूचनाको हकको प्रचलन आवस्यक भएको समेत सरोकारवालाले बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->