नेपाल भाषा, धर्म, संस्कृति, भूगोल, हावापानी सबै दृष्टिले बहुआयमिक देश हो । यहाँ बसोबास गर्ने मानिसहरुको जात, धर्म र भूगोलका आधारमा हाम्रो समाज बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज पनि हो । जसरी समय, ऋतु र यामहरु बदलिईरहन्छन् त्यसरी नै हामीले मान्दै आएका चाडपर्व, परम्परा, संस्कार र संस्कृति पनि बदलिईरहन्छन् । नेपाली समाजले प्रत्येक महिनाजसोः कुनै न कुनै चाडपर्व, संस्कार र संस्कृति मनाईरहन्छ । यसरी हेर्दा बैशाखदेखि चैतसम्मका १२ महिनामा महिनैपिच्छे जस्तो कुनै न कुनै चाडपर्वहरु परिरहन्छन् । आफ्नाो समाज, जातजाति, धर्म र परम्परा अनुरुप चाडपर्व पनि ठुला वा सानाका रुपमा लिईन्छ । नेपाली समाजमा ठूला मानिएका दशैं, तिहार, छठ, ल्होछार, उधौली उभौली, साउने सक्रान्ति, तीज, ईद, माघे सक्रान्ति, चतैदशैं, ट्वहोटे, फागु पूर्णिमा, वुद्ध वा चण्डी पूर्णिमा आदि जस्ता चाडपर्वहरु पनि जातजाति, धर्म र परम्परा अनुरुपनै ठूला वा सानाका रुपमा स्वीकार गरिएको छ । मानव विकासका चरणहरु पुरानो ढुंगेयुग, नयाँ ढुंगे युग, पशुपालन र कृषि युग, औद्योगिक युग हुँदै आधुनिक युगलाई हेर्दा सामुहिक शिकारी जीवनयापनको स्वरुपबाट विस्तारै समाज विकासको क्रमसँगै पशुपालन र कृषि युगको पारिवारिक जीवनयापनको स्वरुपमा आएपछि विभिन्न संस्कार, संस्कृति र परम्पराको सुरुवात भएको पाईन्छ ।
यी धेरै चाडपर्व, संस्कृति र परम्पराहरुको सूचिहरुको उपसूचिमा पर्ने एउटा परम्परा हो साउनेटपरी । विशेषगरी नेपालका मध्यपहाडी समाजमा निकै प्रचलित अत्यन्तै मौलिक र परम्परागत अभ्यास हो, साउनेटपरी । माघ महिनादेखि नेपाली समाज कृषिकर्म अर्थात् खेतीपातीको लयमा लम्किन्छ । माघे सक्रान्तिदेखिनै वर्खाको मौसमी मेलो सुरु भएको मानिन्छ । त्यसैले त नेपाली समाजमा एउटा मान्यता छः ‘माघे सक्रान्ति मरिन्छ वा बाँचिन्छ भनेर मनाउने र साउने सक्रान्ति अब बाँचियो ! भनेर मनाउने ।’
नेपालको विकास यात्रा धेरै लामो छैन । यद्यपी विकासको योजनावद्ध खाका र योजनाहरु वि.सं. २०१३ सालदेखि सुरु भएको हो । हालसम्म ९ वटा पञ्चवर्षीय र ४ वटा त्रिवर्षीय योजना कार्यान्वयन भईसकेको र हाल १५ औं योजनाको कार्यान्वयनमा रहेको देखिन्छ । तर, ति विकासका खाका र योजनाका प्रारुपहरु हाम्रो समुदायस्तरमा पुग्न धेरै समय लाग्यो । अझैपनि तिनको प्रभावकारी कार्यान्वयनमा त प्रश्नचिन्ह उठि नै रहेको छ । हाम्रो समाजको भौतिक, आर्थिक, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, प्रविधि आदिको विकाससँग जोडिएको छ साउनेटपरी परम्परा ।
केहो त साउनेटपरी ?
साउनका दिनमा माईतीले चेलीबेटी (छोरी वा दिदीबैनी) लाई सम्झिएर मिठो मसिनो वा मिठो चोखो खानेकुरा बनाएर टपरीमा पोको पारेर भेट्न जाने चलनलाई नै साउनेटपरी भनिन्छ । हाम्रो मध्यपहाडका आर्य र मंगोल सबैखाले समाजमा वर्षौं अघिदेखि यो चलन सुरु भएको पाईन्छ । माईतीघरका आमाबाबा वा आमाबाबा नभएका चेलीबेटीलाई दाजुभाउजु वा भाईबुहारीले सेलरोटी, खीर अनदीको लट्टे(चाम्रे), पुवा (कतैकतै फरफरे पनि भनिन्छ) र माछा मासु वा अचारविचर पकाएर सालको पातको हरियो टपरीमा राखेर भेट्न जाने चलन थियो÷छ । वर्खाभरी दुःख गरेकी चेलीको स्वास्थ्य अवस्था कस्तो भयो होला ? सञ्चो विसञ्चो के कसो होला ? उदाएदेखि अस्ताएसम्म झरी वादल केही नभनि काममा जोतिनुपर्ने बेलामा के कस्तो खाईन्होला ? मिठो मसिनो खान पाई कि पाईन होला ? यी यावत् प्रश्नहरुले माईती पिरोलिईरहन्थे । अहिले जस्तो सञ्चार सुविधा नभएको त्यो बेलामा हाम्रा चेलीहरु जिउँदै पो छ कि छैन होला भनेर सोच्नुपर्ने अवस्था समेत थियो । त्यसकारण उतिबेला चेलीलाई सम्झिएर साउने भेलहरु छिचोल्दै माईतीले चेली भेट्न जाने परम्परा नै साउनेटपरी हो ।
यातायातको सहजता थिएन, खोलानालमा पुलको सहज सुविधा थिएन । त्यसकारण चेलीबेटी सजिलै र समयको छोटो ख्याओमा माईती जान संभव थिएन । खोलानाला र जंगलको बाटोमा सुरक्षा दृष्टिले चेलीबेटी (आईमाई, केटाकेटी) एक्लै सुरक्षित यात्रा गर्ने अवस्था थिएन । सञ्चारका साधान थिएन त्यसकारण सञ्चो विसञ्चोको खबर बुझ्नसम्म सकिँदैनथ्यो । अहिले जस्तो सजिलै स्वास्थ्य उपचारको सुविधा थिएन त्यसकारण कयौं चेलीहरुले विभिन्न बिमारले ज्यान गुमाउनुपर्ने बाध्यता थियो । कयौं दिनसम्म त मर्नु भाग्नु भएपनि खबर पाईंदैन्थ्यो त्यसकारण पनि बेलाबखत भेट्न गईरहनुपर्ने अवस्था थियो । अनि चेलीबेटी पनि त बेलाबखत माईती भेट्न आए हुन्थ्यो नि भन्ने जिज्ञासा नयाँपुस्तामा आउन सक्छ । खासमा त्यतिबेलाका सासुससुरा, श्रीमान्, देवरजेठाजु, नन्दअमाजु लगायत घरपरिवारहरु धेरै कडा हुन्थे । बुहारीलाई धेरैभन्दा धेरै काममा कजाउने चलन थियो । त्यसकारण चेलीबेटीहरु हत्पती माईत जान पाउँदैनथे । यी र यस्ता धेरै अप्ठ्यारा परिस्थिति त्यतिबेलाका चेलीबेटीले भोग्नुपथ्र्यो । उतिबेला अहिले जस्तो सहज परिस्थिति नै थिएन । तसर्थ माईतीहरु नै समय समयमा आफ्ना चेलीबेटी भेट्न जान्थे । लिन र पुर्याउन जान्थे । चाडपर्वमा, लामो समय दुःख बिमार भएमा, सुत्केरी भएपछि माईतीबाट लिन जाने र पुर्याउन जाने चलन पनि सायद यिनै कारणहरुले गर्दा चलेका हुन् । लामो समय माईती जान नपाएका चेलीहरु, माईतीको अनुहार देख्न नपाएका चेलीहरु एकखालको तड्पाईमै हुन्थे । यताबाट माईती आउलान्कि उताबाट आउलान्कि भनेर कयौं दिन माईतीको बाटो हेरेरै बस्थे चेलीबेटी । माईतीबाट टाढिएर बस्नुपर्दा साह्रै निस्सासिँदा हुन् उतिबेलाका चेलीहरु । त्यसैले त माईतीघर अनि माईतीगाउँ धेरै प्यारो हुन्थ्यो चेलीहरुलाई । त्यसै स्थापित भएको होईन नि यो उखान, ‘माईती देशको त कुकुर पनि पियारो’ ।
लामो समय माईती भेट्न नपाएका चेलीहरु आफ्ना दुःखेसो र पीरमर्का घाँसदाउरा र मेलापात गर्दा गीतमा पोख्थे । तीजका गीति खालमा पोख्थे र छमछमी नाचेर पीडा भुल्ने उपाय निकाल्थे । ‘दाजुभाई त्यै घरमा अटाए, एउटी छोरी नौडाँडा कटाए’ । ‘दाजुभाईलाई स्कुलमा पठायौ, म छोरीलाई नौडाँडा कटायौ’ । ‘दाजुभाईलाई दुधघिउमा डुबायौ, मै छोरीलाई चम्धारा रुवायौ’।‘…हटिदेउ वा दलुमै हेरौंला माईतीको देश’ । ‘मै अभागी छोरी भई जन्मिएँ, प्यारो माईतीघर छोडीअन्मिएँ’ ‘कर्महारा मै छोरी हुनाले, कहिल्यै पनि छोडेन रुनले’ जस्ता विरही गीत र भाकाहरु कति छन् ति । ति सबै माईतीसँगको विछोडका पीडामा छोरीचेलीका हृदयको अन्तस्करणबाट गीति लयमा प्रस्फुटित पीडा हुन् । हो…त्यतिबेलाको कालजमनामा चेली–माईती भेट्ने एउटा महत्वपूर्ण उपाय थियो–साउनेटपरी । त्यही उपायपछि समाजमा परम्पराका रुपमा स्थापित भयो ।
साउने भेलहरु छिचोलेर, महिनौंसम्म माईतीको अनुहार देख्न नपाएर तड्पिएका चेलीको आँगनमा जसै टुप्लुक्क झुल्किन्थे माईती, चेलीहरुको आँखामा उसै उर्लिन्थे खुशीका साउने भेलहरु । माईती चेलीको आत्मिय भेट, हरियो टपरीबाट हरर्र हुर्रिएर आउने कोसेलीको मखमली बासना, माईतीको अँगेनोमा पाकेको मिठोमसिनो कोसेलीको स्वाद अनि सुखदूःखका भलाकुसारी । अहा ! कस्तो स्वर्गीय आनन्द ? समग्रमा साउनेटपरीको परम्परागत र मौलिक स्वाद, आत्मिय परम्परा । उतिबेला साउनेटपरी लिएर चेलीबेटीका घरमा विभिन्न गाउँठाउँबाट आउजाउ गर्ने गाउँभरिका चेलीहरुका माईतीहरु बाटोमा भेटिने अनि आपसमा चिनाजान गर्ने, हालखबर सोधपुछ गर्ने, नयाँ साईनोसम्बन्ध जोड्ने, लामैबाटो परे दुःखसुखका बात मार्दै बाटो काट्ने, बाटोको खाजा बाँडीचुँडी खाने । सुर्ती, चुरोट र तामाखुको अम्मली भए सोधपुछ गर्ने जस्ता अचम्मै मौलिक कृयाकलाप हुन्थे । ति कृयाकलाप र अभ्यासहरुले समाजलाई बलियो गरि धानेका थिए ।
समय फेरियो, सुविधा थपियो, सम्बन्धका स्वरुपहरु बद्लिए, समाज र जीवन जीउने संसारको आयतन बढ्दै गयो । ति सँगै लपेटिँदै गयो साउनेटपरी । अचेल छिनछिनमै भिडियो कलमा अनुहार हेर्दै कुराकानी गर्न पाईन्छ । त्यसकारण भेटको तड्पाई घटेर गयो । सञ्चोविसञ्चो सजिलै बुझ्न सकिन्छ । को कहाँ र कस्तो अवस्थामा छ सहजै थाहा पाईन्छ । आम्दानीका स्रोतहरु बढ्दै गए, जे खान मन लाग्यो पाईन्छ । जे लाउन मन लाग्छ लगाउन सकिन्छ । त्यसकारण पनि चेली माईतीको भेट कति बेला होला भन्ने भएन । भेट्न साउनेटपरी लिएर जानुपर्ने बाध्यता रहेन, कति बेला माईतीबाट साउनेटपरी आउला र मिठोमसिनो खान पाईएला भन्ने अवस्था पनि रहेन । तसर्थ साउनेटपरी परम्परा लोप हुने अवस्थामा आईपुगेको छ ।
यति मौलिक र आत्मिय परम्परामा आजकल धमिरा लाग्दै गएको छ । यो परम्परा धर्मराउँदै गएको छ । अहिले साउनका दिनमा टपरीभरी कोसेली पोको पारेर आफ्ना छोरीचेलीलाई भेट्न जाने चलन लोप हुने अवस्थामा पुगेको छ । छिमेकी र विदेशी मुलुकका आयतित संस्कृति र परम्परालाई सहर्ष स्वीकार गर्दै अघि बढेको नेपाली समाजले आज आफ्ना मौलिक संस्कृति र परम्पराको बेवास्ता गरिरहेको छ । साउनेटपरी परम्परा एउटा सानो सवाल मात्रै हुनसक्छ तर समाजका नयाँ पात्र–पात्राहरुमा जुन खालको प्रवृत्ति हाबी हुँदै गईरहेको छ त्यसले हाम्रो मौलिकता मास्ने निश्चित देखिन्छ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली डायस्पोराहरुले आफ्नो चाडपर्व, संस्कार, संस्कृति र परम्पराको खोजी गर्दै त्यसलाई स्थापित गर्ने अभ्यास गरिरहेको अवस्थाले हाम्रा संस्कृति र परम्परा कति धेरै महत्वपूर्ण रहेछन् भन्ने देखाएको छ । नेपाल र नेपालीलाई विश्वको जुनसुकै कुनामा पनि चिनाउने अमूल्य निधि भनेकै हाम्रा चाडपर्व, संस्कार, संस्कृति र परम्परा रहेछन् भन्ने चेतको नेपाली डायस्पोरामा विकास भएको छ । त्यसो भए हामी….? के सोच्दै छौं ? कुन अभ्यासमा जाँदैछौं ? यसले हामीलाई कहाँ पुर्याउला ? स–सानो भएपनि बहस हुनुपर्ने होला कि नहोला ?
समयको यो बदलिँदो स्वरुपसँगै यो संस्कृति अझै जीवित राख्नु आवश्यक छ कि छैन वा जोगाई राख्न सकिएला कि नसकिएला यो त्यति धेरै महत्वपूर्ण सवाल पनि नहुन सक्छ । जे होस् हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृति चैं हाम्रो समाजका अमुल्य निधि हुन् अनि समाजका मौलिक पहिचान र मानक पनि हुन् । पुस्तौंदेखि हाम्रा पुर्खाले हामीलाई छाडेर गएको अमुल्य नासो पनि हुन् । उक्त नासो हाम्रो पुस्ताले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायित्व पनि हाम्रो हो भन्ने अनुभूति हामीले गर्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्नको जवाफ दिने पनि हामीले नै हो ।
(लेखक नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।)





