मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बढ्दो मोबाइल प्रयोगले बिग्रदो बालमस्तिष्क

बढ्दो मोबाइल प्रयोगले बिग्रदो बालमस्तिष्क


  • माधव चापागाईं
  • भाद्र ३ २०८२, मंगलबार

आजको युग विज्ञान र प्रविधिको युग हो । मानिस ढुङ्गे युगबाट एक्काइसौं शताब्दीमा प्रवेश गर्दा सञ्चार क्षेत्रमा आमूल परिवर्तन आएका छन् । केही वर्ष अघिसम्म मोबाइल नामक यन्त्रलाई कसैले चिन्न सक्दैनथ्यो । सूचना सम्प्रेषणको माध्यम भनेको हस्तलिखित चिठी हुन्थ्ये । केही समयको अन्तरालमै मानव जीवन इमेल, इन्टरनेट सहित मोबाइलको दुनियाँमा रमाइरहेको छ । पहिले पहिले एक कल फोन गर्न घन्टौं हिँडेर बजार पुग्नुपर्थ्यो । यहि फोन अहिले भर्खरै जन्मिएका बालबालिकादेखि वृद्धवृद्धासम्मका हातहातमा भएको छ । जसका कारण संसार साघुँरिदो छ । ब्रह्माण्डको जुनकुनै कुनामा प्रत्यक्ष कुराकानी गर्न र सबैतिरका सूचना हेर्न, पढ्न र मनोरञ्जन लिन सकिने भएको छ । अहिले मानिसले हातको मोबाइलमै सबथोक पाउँछ । टिभी, कम्प्युटर र ल्यापटपमा उपलब्ध हुने सेवासुविधा मोबाइल मै आउँछ । एक अर्थले त सारा संसार नै मानिसको हातमा अटाउने भएको छ । मोबाइल त मानिसको हितैसी मित्र भएको छ ।

विज्ञान अभिशाप हो कि वरदान हो । अझै निश्चित भएको छैन । विज्ञानका कारण आमूल परिवर्तन भएको मान्नेहरुले वरदान माने पनि यसैका कारण संसार धमिलो बन्दैछ । अणुबम र परमाणु बमको शङ्खघोष गर्ने नै विज्ञान हो भन्नेहरुले अभिशाप मान्लान् । जस्ले जेसुकै माने पनि प्रविधिको पहुँचलाई मान्नै पर्छ । मोबाइलकै कारण मानिसले धेरै सहज जीवनको महशुस गरेकोमा दुई मत छैन । यसलाई हामी सबैले आत्मसात् गर्दै आएका छौं । प्रविधिकै प्रतिस्पर्धाले सारा विश्व प्रविधिमैत्री भइरहेको छ । तर यही मोबाइल (साथी) ले बालमस्तिष्कमा कस्तो प्रभाव पारेको छ भनेर आमाबुबा अर्थात अभिभावकले जान्नु आवश्यक छ । बढ्दै गरेका बालबालिकामा मोबाइल चलाउने बानी, त्यसप्रतिको आकर्षण र लगाव कस्तो छ भन्ने कुरा बुझ्नुपर्छ । मोबाइलको उपयोगले जत्ती मात्रामा लाभ हुन्छ यसको दुरूपयोगले त्यत्तिकै मात्रामा नोक्सानी हुन्छ । यस विषयमा अभिभावक सचेत र जिम्मेवार बन्नै पर्छ ।

बाल उमेर भनेको राम्रो नराम्रो छुट्याउन नसक्ने उमेर हो । बाल्यकालमा बसेका आदतहरुले जीवनभर पिछा गरिरहन्छन् । तसर्थ अभिभावकहरु आफ्ना छोराछोरीका आदतबारे जानकार हुनुपर्छ । मोबाइलको प्रयोगबाट ज्ञानको क्षितिज फराकिलो पार्न, व्यक्तिसँग सम्पर्क गर्न, इमेलमार्फत सूचना आदानप्रदान गर्न, आफ्ना सिर्जनात्मक रचनाहरुलाई सबै सामु प्रस्तुत गर्न र मनोरञ्जन लिन सकिन्छ । बालबालिकाहरुले मोबाइलाई ज्ञान आर्जन गर्ने साधनका रूपमा प्रयोग गर्नुपर्छ । मोबाइल आफैंमा हानिकारक सामाग्री होइन, यो सूचना र प्रविधिको क्षेत्रमा अधिक फलदायी सामग्री हो । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भने झै’ यदि मोबाइलको दुरुपयोग गरियो भने यसबाट अधिक बेफाइदा हुन्छ । हामीले प्रयोग गर्ने हरेक सामग्रीका सबल वा दुर्वल दुवै पक्ष हुन्छन् । हामीले दुर्वल पक्षलाई छाडेर सबल पक्षको अनुशरण गर्न जान्यौं भने क्षति हुँदैन ।

इन्टरनेटको सर्वसुलभताले आजभोलिका बालबालिका घण्टौं मोबाइलमा बिताउँछन् । यो प्रवृत्तिले विद्यालय उमेरका बालबालिकालाई दीर्घकालीन असर पुर्‍याउँदै छ । मोबाइलको लत लागेका केटाकेटी हुन् या अन्य
मानिस एकोहोरिने प्रवृत्ति बढ्दो छ । बालबालिकाहरु पढाइमा भन्दा अन्यत्र धेरै ध्यान दिन थालेका छन् । विभिन्न खेलको लतमा लागेर रुने, कराउने, निद्रामा बर्बराउने र शयनावस्थामै उठेर हिँड्ने गरेका दृष्टान्त छन् ।
बालबालिकाको खाने, सुत्ने, उठ्ने, पढ्ने र सरसफाइ गर्ने काममा सानैदेखि उचित आदत बसाइदिनु पर्छ । समयानुकूल प्रविधिले बालबालिकाको क्षमता वृद्धिमा मद्दत गर्छ, परन्तु यसको दुरूपयोग भए दुर्घटना हुन सक्छ । बालबालिकाको लागि अहिले मोबाइल केन्द्रविन्दुमा रहेको छ । कतिखेर विद्यालयबाट घर जाउँ र मोबाइल चलाउँ भन्ने ध्यानमा उनीहरू दिन बिताउँछन् । मोबाइलका कारण पढ्न ध्यान नदिने, शारीरिक आलस्य हुने, सुत्न नसक्ने र खान मन नगर्ने जस्ता बानी देखिदै छन् । कतिपय बालबालिका त डिप्रेसनकै सिकार भएका हुन्छन् भने कतिपय दुर्व्यसनमा फसेका घटना छन् । त्यसैले उनीहरूको मनोविज्ञान बुझ्न जरुरी छ । धेरै बालबालिकाहरू मोबाइलकै विषयमा झर्कोफर्को गर्ने, रिसाउने, कराउने र रूने गर्दछन् । जसबाट मानसिक र शारीरिक अस्वस्थता हुन सक्ने देखिन्छ । यतिबेला अभिभावक सचेत भएर सम्झाइबुझाइ गर्नु पर्छ ।

बालबालिकालाई मोबाइलमा भुलाउँदै खाना खुवाउने, आमाबुबाले आफ्नो व्यस्ततामा मोबाइलमा बालबालिका भुलाएर काम गर्ने प्रवृत्तिले बाल स्वास्थ्यमा असर पुग्दो छ । त्यसैले बच्चालाई खाना खुवाउने र अन्य खाली समयमा बाहिरतिर डुलाउने, कथा सुनाउने, मोबाइल नै देखाउनु परे पनि आफ्नै निगरानीमा रचनात्मक कुरा मात्र देखाउने गर्नुपर्दछ । बालबालिकाको पहिलो पाठशाला घर हो । पहिलो गुरु आमा हुन्छ । आमाबाबु र आफू भन्दा ठूला मानिसहरू जे गर्छन्, बालबालिकाले त्यही गर्न खोज्छन् । जसका कारण आमाबाबुले उनीहरुको निकटमा प्रविधिजन्य उपकरण चलाउनु हुँदैन । बालबालिकाको शारीरिक र मानसिक विकास राम्रो बनाउन पारिवारिक वातावरण राम्रो हुनुपर्छ । उनीहरूमा असल बानीको विकास हुनुपर्छ । आमाबाबुले बालबालिकासँग अधिक समय बिताउन सके पारिवारिक सम्बन्ध बलियो हुन्छ । तर हाम्रो समाजको आजको परिवेश निकै बदलिँदो छ । बालबालिकाले मोबाइलमा सुनेका, देखेका, भेटेका र मनन गरेका राम्रा कुराले बाल मस्तिष्कमा राम्रो प्रभाव पार्लान परन्तु नराम्रा कुराले बालमस्तिष्क ध्वस्त हुँदै छ । आमाबुबा विदेशिने बुढा हजुरबा हजुरआमासँग बसेका केटाकेटीले उनीहरूलाई रत्तीभर नगन्ने भएर नै बालबालिका मोबाइलको सिकार बनिरहेका छन् । तसर्थ बालबालिकालाई खराब आदत र कुलतबाट बचाउन अभिभावकको भूमिकामा सुधार आउन जरुरी छ । आजभोलि प्रत्येक घरमा एउटै समस्या छ । बालबालिकाहरू अटेरी भए, जिद्दीपन बढ्दो छ । मोबाइल नभएसम्म खाना खान मान्दैनन् । उनिहरु मोबाइल बिना केही गर्नै आट्दैनन्न । हुँदाहुँदा आजभोलि मोबाइलमै हेरेर होमवर्क गर्छन् । मोबाइलका गीतहरू सुन्दै लेख्न सुरु गर्छन्। यो पनि विसङ्गति नै भएको छ । अभिभावकले बालबालिकालाई जोगाउन निकै गाह्रो भएको छ । उनीहरु भन्छन् विद्यालयले जोगाइदियोस् तर विद्यालयको हातमा विद्यार्थी हुनै सक्दैनन् । उनीहरु जम्मा ६ घण्टा विद्यालयको परिसरमा रहन्छन् त्यो बेला मोबाइल उनीहरुसँग हुँदैन । आखिर घरमै विद्यार्थीले मोबाइलको प्रयोग गरिरहेको छ । यसको मूल जड भनेको अभिभावक स्वयं हुन् । एक थरी अभिभावक बच्चादेखि परोक्षमा छन् । घरायसी बाध्यताले विदेशिएका बाबुआमाबाट बच्चाको हेरविचार पुगेको हुँदैन नै, अर्का थरी अभिभावक आफ्नो रोजिरोटिको लागि अहोरात्र काममा खटिएका हुन्छन् । बच्चालाई पर्याप्त समय दिन नसक्नु, उपयुक्त निगरानी नहुनु, दोस्रो व्यक्तिको जिम्मामा बच्चा छाडेर आफू टाडिनु जस्ता कारणले बच्चाको भावनामा ठेस पुगिरहेको छ । यस्तो परिवेशमा हुर्किएका बालबालिका अटेरी हुनु स्वभाविकै हो । तर के गर्नु समय र परिस्थितिले उनीहरुलाई यस्तै लतमा पर्न बाध्य बनाएको छ । बाल्यावस्थाका केटाकेटीलाई गाली गरेर मात्रै हुँदैन । उनीहरुको मनोविज्ञान बुझेर सतर्कतापूर्वक सम्झाईबुझाई गर्नु पर्छ ।

आजको परिवेशमा बाबुआमाको बढ्दो मोबाइल आकर्षणले नै बालमनोविज्ञान खल्बलिदो छ । बाबुआमाले स्वयं मोबाइलमा अधिक समय व्यतीत गर्दा बालबालिकाको मन बिथोलिएको बुझिन्छ । एउटै कोठा र समान बसाइमा अभिभावकले म्यासेन्जर, भाइवर, टिकटक, युट्युव जस्ता सामाग्री चलाउदा बालबालिकाले कसरी पढ्न सक्छन् ? आफू मज्जाले मोबाइल चलाएर बस्ने, साना बालबालिकालाई पढ पढ भन्ने प्रवृत्तिले बाल मनोविज्ञानमा ठूलो असर पर्दैछ । आखिर बालबालिकालाई मोबाइल नै दिन नहुने भन्ने त छैन नि परन्तु उनीहरूलाई धेरै समय मोबाइलमा व्यतित गर्न चाहिँ नदिनुपर्ने हो । अभिभावकहरू आफू निरन्तर मोबाइलमा झुन्डिने तर बालबालिकालाई फरक कर्ममा लगाउँदा उनीहरूको मनोविज्ञान बिग्रँदो छ । हो बालबालिकालाई मोबाइल दिनु हुँदैन। तर मोबाइलबाटै बालबालिकाले धेरै कुराहरू सिकिरहेको परिवेश पनि छ । त्यसैले उनीहरुलाई मोबाइलबाट टाढा होइन मोबाइलको सदुपयोग गर्न सिकाउँ । उनिहरुलाई दैनिक सिमित समय छुट्याएर मोबाइल प्रयोग गर्न दिउँ । तथापि निगरानी बढाउ ताकी उनिहरुले मोबाइलबाट नराम्रो कुरा नसिकुन् । अन्यथा उनीहरुले दोस्रो कदम चाल्न पुगे भने परिवारमा क्षति हुन्छ । तसर्थ बालबालिकालाई अध्ययनमा आकर्षित गर्न अभिभावक स्वयंले पढ्नुपर्ने देखिन्छ ।

हामीले सामाजिक सञ्जालको समुचित प्रयोग गरे मात्र फाइदा लिन सकिन्छ । अन्यथा बालबालिकाले बढी समय मोबाइलको प्रयोग गरेमा दृष्टि कमजोर हुने, कोठामा एक्लै बसेर घन्टौँ मोबाइल चलाउने आदतले परिवारबाट एक्लो बनाउँने, मस्तिष्कमा नकारात्मक असर पर्ने र गलत साथीको सङ्गतमा परेर अनुचित कार्यमा संलग्न हुने खतरा हुन्छ । समय निकै मूल्यवान् छ । समयसङ्ग पुनः दोहोरिएर आउने समय हुँदैन । समयलाई पैसाले किन्न पनि सकिदैन । यसर्थ बालबालिकालाई समयको महत्त्व बुझाएर जिम्मेवार बनाउनु आवश्यक छ । जीवन अघि बढाउने क्रममा बालकदेखि वृद्धसम्मका मानिसले उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरि आफूलाई सधैं सिर्जनात्मक कार्यमा व्यस्त राख्नुपर्छ । मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता अत्याधुनिक विद्युतीय सामग्रीलाई समय व्यतीत गर्ने माध्यम नबनाएर ज्ञानवर्धक र रचनात्मक कुरा सिक्ने साधन बनाउनु पर्छ । बालबालिकाहरुलाई पढाइका अतिरिक्त घरायसी काममा जोड्नु आमाबुबाको कर्तव्य हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->