बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हरेलो गरेपछि गरिँदैन रोपाई

हरेलो गरेपछि गरिँदैन रोपाई

जब हरेलो पूजा हुन्छ तब मात्रै कृषकहरूलाई ‘असारे चटारो’ सकिएको लाग्छ । हरेलो पूजा सकेपछि जेठ/असारमा रोपाइका लागि निकालेका हला, जुवा लगायतका रोपाई सामग्रीहरू धाई पखाली गर्ने गरिन्छ ।


  • संजय रेग्मी
  • भाद्र ४ २०८२, बुधबार

पर्वत/भदौ महिनाको पहिलो मङ्गलवार भएकोले धान रोपाई सकेका कृषकहरूले हरेलो पूजा गर्ने गरेका छन् । पछिल्लो समयमा हरेलो पूजा लोप हुँदै गएको भए पनि विगतमा भने सिमली, कटुस, गिँदरी, पाती लगायतका हाँगामा कटुसका पातमा बेरिएका पोकाहरू झुन्डिएका हुन्थे । ती पोकाहरूमा विभिन्न अन्नबालीहरू राखेर भगवानको नाममा अर्पण गरिन्थ्यो, धान खेतीमा कुनै पनि प्रकोप र रोग नलागोस् भनेर प्रार्थना गरिन्थ्यो ।

यही हरेलोको पूजा गरेपछि रोपाई गर्न नहुने मान्यता पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेको छ । हरेलो पूजासम्म रोपाई भइसकेको हुने र कुनै कारणवश रोपाइ नभएको भएमा पूजा नै सारेर रोपाई गर्ने चलन पनि छ । जब हरेलो पूजा हुन्छ तब मात्रै कृषकहरूलाई ‘असारे चटारो’ सकिएको लाग्छ । हरेलो पूजा सकेपछि जेठ/असारमा रोपाइका लागि निकालेका हला, जुवा लगायतका रोपाई सामग्रीहरू धाई पखाली गर्ने गरिन्छ ।

यही हरेलो पूजाको दिन अगाडिसम्म आइपुग्दा गण्डकी प्रदेशमा धान रोपाई हुने अनुमान गरिएकोमध्ये ९३ प्रतिशत खेतमा रोपाई पूरा भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीका अनुसार प्रदेशका नौ जिल्लामा यो बर्खामा ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइ हुने अनुमान गरिएकोमा ८७ हजार ८०९ हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ । जुन अनुमान गरिएकोमध्येको ९३.२३ प्रतिशत क्षेत्रफलमा रोपाइ भएको हो ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएकोमा चालु आर्थिक वर्षमा केही क्षेत्रफलमा रोपाई घट्ने अनुमान गरिएको थियो । गण्डकीमा ११ जिल्ला रहेको भए पनि हिमाल पारीको जिल्लाका रूपमा रहेका मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी रोपाई कास्की जिल्लमा ९९.५७ प्रतिशत भएको छ भने सबैभन्दा कम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८२.७० प्रतिशत रोपाइ भएको छ । यस्तै गोरखामा ८५.०१, लमजुङमा ९६.७८, तनहुँमा ९५.९७, पर्वतमा ९४, स्याङ्जामा ९९.३१, म्याग्दीमा ९५.२४ र बागलुङमा ९६.८१ प्रतिशत रोपाइ भएको छ ।

कास्कीमा १६ हजार २२० हेक्टरमध्ये १६ हजार १५० मा, कम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ हजार ७२० हेक्टरमध्ये १५ हजार ४८१ मा, गोरखामा १० हजार १४० हेक्टरमध्ये आठ हजार ६२० मा, लमजुङमा नौ हजार २९९ हेक्टरमध्ये नौ हजारमा, तनहुँमा आठ हजार ७२० हेक्टरमध्ये आठ हजार ३६९ मा, पर्वतमा सात हजार १८० हेक्टरमध्ये छ हजार ७४९ मा, स्याङ्जामा १४ हजार ३९० हेक्टरमध्ये १४ हजार २९० मा, म्याग्दीमा तीन हजार ८०६ हेक्टरमध्ये तीन हजार ६२५ हेक्टरमा र बागलुङमा पाँच हजार ७०७ हेक्टरमध्ये पाँच हजार ५२५ हेक्टरमा रोपाइ भएको सचिव रेग्मीले बताए ।

आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ७१६ हेक्टर कम क्षेत्रफलमा धान लगाइएको थियो । उक्त वर्ष ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउँदा यस वर्ष भने पोहोरको तुलनामा तीन हजार ५८७ हेक्टर कम क्षेत्रफलमा रोपाई हुन सक्ने अनुमान गरिएको थियो । २०८० सालको तुलनामा ०८१ सालमा करिब १.८ प्रतिशत कम क्षेत्रफलमा रोपाई भएको हो भने यो वर्ष भदौसम्म रोपाई हुँदा पोहोरका तुलनामा ८.५८ प्रतिशतले कम रोपाई भएको हो ।

पैसाको उपलब्धता, आयातमा भएको निर्भरता, मानिसमा बढ्दै गएको अल्छीपना, बसाइसराइ, वन्यजन्तुको प्रकोप, मौसमको असामान्य अवस्था, लगायतका कारण धान लगाइने क्षेत्रफल घट्दै गएको हुन सक्ने अनुमान गरिएको बताउँछन् । आवश्यक भएको समयमा वर्षा नहुने लगायतका मौसमी समस्याका कारण पनि कतिपय क्षेत्रमा धान लगाइने क्षेत्रफल घट्दै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->