पोखरा/पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्र्तगत शुक्रबार अन्तर समूहस्तरीय तीजगीत प्रतियोगिता भएको छ ।
उक्त प्रतियोगितामा प्रतिक्षा क्षेत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय भए।त्यस अवसरमा विद्यार्थीले संस्कृति, संस्कार, महिला विभेद, समानता, रितिरिवाज, महिलाका दुःख–सुखका विषयवस्तु समेटी गीत प्रस्तुत गरे । प्रतियोगितामा शिक्षकद्वय विमल आचार्य र रेखा थापाले निर्णयकको भूमिका निर्वाह गरे ।
पुरस्कार वितरण गर्दै प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकतालाई जोगाई राख्नुपर्ने स्पष्ट पार्दै चाडपर्व हुदाँ खाने वर्गको पनि हुनुपर्ने जनाए ।
सहायक प्रधानाध्यापक खेमराज बरालले चाडपर्वलाई भड्किलो रुपमा नमनाउन सुझाव दिर्दै विद्यार्थीका प्रतिभा प्रस्फुटनको माध्ययम प्रतियोगिता बनेको स्पष्ट पारे ।
सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले तीजलाई सांस्कृतिक पर्वको संज्ञा दिर्दै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय सदा प्रयासरत रहेको सुनाए ।
त्यस अवसरमा विद्यार्थी तथा शिक्षक तीजगीतमा रमाए भने विजयी विद्यार्थीलाई पुरस्कार वितरण पनि गरियो ।
प्रधानाध्यापक शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक डिल्लीराम बरालले संचालन गरे । त्यस्तै विद्यालयले कक्षा १० सम्मका विद्यार्थी लक्षित गर्दै तीजगीत प्रतियोगिता पनि सम्पन्न गरेको छ ।
विद्यालयले वार्षिक कार्यतालिका निर्माण गरी शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप संचालन गर्दै आइरहेको छ ।





