पोखरा/ पोखरा महानगरपालिका-२३ हर्पनका प्रत्युष पौडेलले १८ औँ अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका छन् । भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ गतेसम्म चलेको प्रतियोगितामा पौडेलले सो अवार्ड पाएका हुन् । प्रतियोगितामा ६३ देशका २ सय ८८ भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।
ओलम्पियाडमा सहभागी विद्यार्थीले खगोलशास्त्र, खगोलभौतिकी तथा सम्बन्धित विज्ञानका क्षेत्रमा आफ्नो ज्ञान र सीपको गहन परीक्षा दिएका थिए । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ६ सय पूर्णांकको प्रतियोगितामा ३ सय अंकको सैद्धान्तिक र ३ सय अंककै प्रयोगात्मक परीक्षा समावेश थियो ।
‘पोखरा–२३ हर्पन निवासी पौडेलले यस कठिन प्रतिस्पर्धामा ‘अनरेबल मेन्सन अवार्ड’ हासिल गर्नु नेपालका लागि एक महत्वपूर्ण उपलब्धि हो,’अध्यक्ष भट्टराईले भने, ‘पौडेलले सो अवार्ड प्राप्त गरी नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्वल बनाएका छन् ।’
यसअघि नेपालमा आयोजित १२औँ राष्ट्रिय खगोल ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेपछि प्रत्युष राष्ट्रिय टोलीका लागि छनोट भएका थिए । उनको यो सफलताले अन्तर्राष्ट्रिय वैज्ञानिक प्रतिस्पर्धामा नेपाली युवाहरूको बढ्दो सम्भावनालाई उजागर गरेको छ ।
सोसाइटीका अध्यक्ष भट्टराईले पौडेलको यो सम्मानले नेपालको वैज्ञानिक समुदायलाई प्रोत्साहित गरेको र भविष्यमा यस्ता प्रतियोगिताहरूमा भाग लिन अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाले प्रतियोगितामा सहभागीमध्ये १ सय ७० जनालाई ५० स्वर्ण, ५१ रजत, ४३ कास्य पदक तथा २६ अनरेबल मेन्सन अवार्ड प्रदान गरेको थियो ।





