बागलुङ/गुठी युवा क्लबको आयोजनामा चौथो तीज मेला २०८२ शुरु भएको छ । सोमबारदेखि शुरु मेलामा सहभागिले तीजलाई मौलिक पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् ।
तीजलाई साँस्कृतिक पर्वको रुपमा मनाउने नाउँमा पछिल्लो समय भड्किलो बनाइएको भन्दै आर्थिक रुपमा कमजोर भएकाहरुले मनाउनै नसक्ने खालको बनेको टिप्पणी समेत भएको थियो । हरेकले आफ्ना पिर व्यथा उजागर गर्ने र सामान्य रुपमा मनाउने अवसर बनाउन सबैलाई आग्रह पनि गरे ।
मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि चाडपर्वलाई सहि ढंगले मनाउनुपर्नेमा जोड दिए । उनले समानतामुलक समाज निर्माणका लागि तीज पर्वले महत्वपूर्ण योगदान पु¥याउने बताए । मौलिकतालाई जोगाउँदै बिकृतिलाई अन्त्य गर्नुपर्ने आजको आवश्यकता रहेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती, विभिन्न आमा समूहहरुद्वारा पनि तीज गीत प्रस्तुत गरिनेछ ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष शनि केसी लक्ष्मण, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, वडा नं. ३ की सदस्य पवित्रा सुनार, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष लीलादेवी खड्का, दलीत युवा संजाल बागलुङका अध्यक्ष राहुल बोहोरा, गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्का, मानवतावादी पार्टीका अध्यक्ष भक्तबहादुर विक, चिप्लेटी महिला समूहकी अध्यक्ष गीता थापा, पत्रकार ताराप्रसाद शर्मा र जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम गुठी युवा क्लबका अध्यक्ष उमेशलाल मिजारको अध्यक्षता र पत्रकार कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।
मेलामा चर्चित गायक समीक्षा अधिकारी, रवि कार्की, सीता सुनार, ऋतु बोहरासहित स्थानीय कलाकारको पनि प्रस्तुती रहने आयोजकले जनाएका छन् । पछिल्लो चार वर्षदेखि क्लबले निरन्तर यहाँ मेला आयोजना गर्दै आएको छ ।





