बागलुङ/कुनै न कुनै रुपमा महिला, बालबालिका र जेष्ठ नागरिकहरु बेचबिखनमा परेपनि उजुरीहरु नआउने कारणले खोजीनीतिमा असर परिरहेको सरोकारवालाले बताएका छन् । उनीहरुले मानव बेचबिखन जस्तो गम्भिर अपराधबारे समुदायमा सचेतना नपुगेको र त्यसकै कारण कैयौं नागरिक पीडामा परेको बताए ।
समयमा उजुरी गरेमा अपराधबाट समाजका पीडितलाई बचाउन सकिने पनि उनीहरुको भनाई थियो । मानव बेचबिखन तथा अबैध ओसारपसार विरुद्वको अन्तराष्ट्रिय दिवशको अवसरमा बागलुङमा आयोजित कार्यक्रमका सहभागिले बेचबिखन जस्तो अपराध हुनै नदिनेतर्फ सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याए ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले पहाडी क्षेत्रमा तुलनात्मक रुपमा मानव बेचबिखनको जोखिम क्षेत्र भएकोले सबैको चासो बढ्नुपर्ने बताए । यातायात र सामाजिक संजालको प्रयोगले पनि बेचबिखनको जोखिम निम्त्याएको थापाको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले मानव बेचबिखन रोक्न जागरण फैलाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले मानव बेचबिखन र ओसारपसारबारे कार्यपत्र प्रस्तुतीकरण गर्दै घटनाको रुपमा जिल्लामा अघिल्लो वर्ष र गतवर्ष पनि एक÷एक वटा मात्रै मानव बेचबिखनका मुद्दा परेको बताए ।
मानव बेचबिखन विरुद्वको दिवशको अवसरमा शुक्रबार बिहान प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । प्रभातफेरीलगत्तै कानून व्यवसायी, पत्रकार, सामाजिक क्षेत्रका अगुवा, कर्मचारी र जनप्रतिनिधिको सहभागिता अन्तरक्रिया कार्यक्रम गरिएको हो ।





