
बागलुङ/आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनाएको छ । शनिबार अन्तरक्रिया कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो ।
आदर्श संचार सहकारी संस्थाद्वारा संचालित अनलाइनलाई अझै प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे अनलाइनको तर्फबाट सुझाव समेत माग गरिएको छ । दैनिक र साप्ताहिक पत्रिकासँगै अनलाइन संचालनमा ल्याएपछि सञ्चारको दायरा फराकिलो भएको भन्दै अझै व्यवस्थित बनाएर लैजाने काम भैरहेको सम्पादक रामबहादुर जिसीले बताए ।
उनले सहकारीमार्फत पनि सञ्चार माध्यमहरु संचालन गर्न सकिने रहेछ भन्ने उदाहरण देखाउन सकेको बताए । शुरुवातमा सहकारीले पुर्ण स्वामित्व लिएर सञ्चार माध्यमहरुलाई अगाडि बढाएपनि क्रमशः सञ्चार माध्यम आँफै सक्षम बन्ने वातावरण पनि तयार भैरहेको जिसीको भनाइ थियो । एक वर्षभित्र धौलागिरि क्षेत्रका सबै स्थानीय तहमा पुगेर एक सय पर्यटकीय गन्तव्यहरु चिनाउने लक्ष्य समेत सहकारीले राखेको छ । सोही अनुसार यो वर्ष पर्यटनका समाचारमा प्राथमिकता दिएको पनि उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रपत्रिकाको प्रभावकारितासँगै अनलाइनको आवस्यकता बढीरहेको बताए । उनले सामाजिक सञ्जालको प्रयोगले त अनलाइनहरुको उपयोगिता अझै बढाएको भन्दै हाल बन्द भएका सामाजिक संजाल पनि खुलेपछि अनलाइनहरुको प्रभावकारिता फेरी उजागर हुने बताए ।
आदर्श संचार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता र अनलाइनका पत्रकार डम्मर बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल सबै सञ्चारकर्मीहरु सहभागि भएका थिए ।






