पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ ।
स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाई भैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीले बताए । गाउँपालिकाले पशु विकास शाखाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीन फरक फरक शीर्षकमा उक्त अनुदान आवेदनका लागि कृषकहरूलाई आह्वान गरिएको छ ।
पहिलो उन्नत जातका गाई÷भैँसी खरिदमा अनुदान दिनको लागि चार लाख रुपैयाँ छुट्टाइएको छ । यो शीर्षकमा २० जना कृषकहरूलाई प्रति गाई वा भैँसी खरिद गरेबापत २० हजार रुपैयाँ अनुदान पाउनेछन् । दोस्रो स्थानीय गाई संरक्षण कार्यक्रम अन्तर्गत एक लाख २५ हजार रुपैयाँ अनुदान वितरण गरिने छ । प्रति स्थानीय सुत्केरी गाईको लागि दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
‘उन्नत जातका गाई/भैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड, २०७७’ अनुसार यो अनुदान दिइने छ । अनुदान पाउनको लागि निरन्तर तीन वर्ष गाई पाल्ने प्रतिबद्धता, सुत्केरी गाई सहित बाच्छा÷बाच्छीको फोटो र नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि अनिवार्य गरिएको छ ।
यस्तै पशु विकास शाखाकै वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हल गोरु पाल्ने कृषकहरूलाई कुल पाँच लाख रुपैयाँ अनुदान दिने तयारी पनि गाउँपालिकाले गरेको छ । ‘हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत प्रति हल गोरु पालेका कृषकहरूलाई १० हजार रुपैयाँका दरले अनुदान दिइने छ । यो अनुदान पाउनको लागि कम्तीमा एक वर्षदेखि हल गोरु पाल्दै आएको र आगामी तीन वर्षसम्म निरन्तर पाल्ने प्रतिबद्धता गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रेश्मीले बताए ।
‘यी अनुदानले स्थानीय जातका गाई पालनमा वृद्धि गरी गोरुको उत्पादन बढाउने, गोरु पालेर कान्ला र पाखामा पनि खेती गर्न तथा उन्नत जातका पशु पालेर कृषकको आम्दानी बढाउन सहयोग गर्ने छ’, उनले भने, ‘हामीले प्रोत्साहनका लागि मात्रै थोरै भए पनि अनुदान दिन लागेका हौँ । स्थानीय गाई गोरु लोप हुनु भनेको बाह्य उपकरण र बस्तु आयात हुनु हो। यसले परनिर्भरता बढाउँछ, यहाँको पैसा सोझै बाहिरिन्छ ।’
स्थानीय जातका गाईबाट दूध उत्पादन कम हुने भएकाले कृषकहरूले यी गाईहरू पाल्न छाडेका छन् । खेत जोत्नका लागि ‘मिनी टिलर’ भित्रिएपछि गाई पाल्ने क्रम झनै घटेर गएको छ । एक त ग्रामीण क्षेत्रबाट बसाई सरेर सहरमा जाँदा ग्रामीण क्षेत्रमा कृषकहरूको सङ्ख्यामा कमी हुनु, अर्को कृषकहरूलाई गाई, भैँसी र गोरुमा अनुदान दिनुको सट्टा ‘मसिनरी’ सामानमा अनुदान दिँदा स्थानीय गाई पाल्ने क्रम ह्वात्तै घटेको हो ।
दूध बिक्री गर्नका लागि व्यावसायिक रूपमा गाई पाल्ने कृषकहरूले उन्नत र आयातित जातका गाई पाल्दा रैथाने जातका गाई लोप भएका छन् । उन्नत जातका गाईबाट जन्मिएका बाच्छालाई स्थानीय जातका गाईबाट जन्मिएका गोरुलाई जस्तै खेत जोत्नमा प्रयोग गर्न समस्या हुन्छ । तर गोरुको स्थान ‘मिनी टिलर’ ले लिँदा स्थानीय जातका गाईबाट जन्मिएका बाच्छाको अभाव महसुस हुने गरेको छैन ।
गाउँमै हुर्किएका गोरुबाट छेउ र कुना टिपेर खेतबारी जोत्न तथा अग्ला कान्ला, पाखा र भीरमा समेत खेती गर्नको लागि गोरु जत्तिकै सहज उपकरण नहुने भएकाले पनि कृषकहरूलाई गोरु पालनमा आकर्षण गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ बताउँछन् । सुरुका वर्षहरूमा ‘मिनी टिलर’ मा कृषकहरूको आकर्षण ह्वात्तै बढेको भए पनि पछिल्ला दिनहरूमा यसलाई लिएर हिँड्ने र चलाउने जनशक्तिको अभाव हुनु, ज्येष्ठ नागरिकलाई ‘मसिन’ सार्न र चलाउन समस्या हुनु, उपकरणको मर्मत गर्न गाउँमा जनशक्ति नहुनु, बजारमा लगेर मर्मत गर्दा पनि महँगो पर्नु, समथर जमिनबाहेकका क्षेत्रमा चलाउन धेरै बल आवश्यक पर्नु लगायतका कारण कृषकहरू पनि गोरु पालनमा आकर्षित हुन थालेको पनि उनको भनाइ छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा पशु व्यवसायीहरूलाई दूध ढुवानीमा प्रति लिटर सात रुपैयाँ पचास पैसा सहुलियत प्रदान गर्ने, प्रजननका लागि राँगा पाल्ने कृषकलाई राहत दिने तथा भकारो सुधार गर्ने कार्यक्रम सञ्चालनको पनि तयारी गरिरहेको छ ।





