पर्वत/बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थानको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको घर घरमा मनै पुगेर सामाजिक सुरक्षा भत्ता पाउनको लागि नवीकरणको काम गरेको छ ।
शनिवारको दिन भए पनि बिहानैदेखि वडामा छरिएर रहेका टोलमा बसोबास गर्दै आएका अपाङ्गता भएका तथा शारीरिक समस्याका कारण हिँडडुलमा कठिनाइ भएकाहरूको घरमा नै पुगेर नवीकरणको काम गरिएको हो । वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार बर्खाको बेलामा अप्ठ्यारो बनेका बाटाको प्रयोगमा समस्या हुने तथा छरिएर रहेका बस्तीका सबैले नवीकरण र विद्युतीय तथ्याङ्कको बारेमा थाहा नपाएको पनि हुन सक्ने भएकोले कर्मचारी र जनप्रतिनिधिहरूको टोलीले शनिवारदेखि घर घरमा नै पुगेर नवीकरणको काम गरिरहेको हो ।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि अनिवार्य रूपमा ‘डिजिटल’ रूपमा तथ्याङ्क राख्ने अर्थात् ‘बायोमेट्रिक’ गरेको हुनुपर्ने व्यवस्था अनुसार उपकरण सहित पुगेको टोलीले विवरणहरूको ‘बायोमेट्रिक’ अद्यावधिक समेत पूरा गरेको छ । जनप्रतिनिधिहरूको काम नागरिकलाई सकेसम्म सहज गराउने नै भएकोले समस्यामा रहेका ज्येष्ठ नागरिकलाई राहत होस भन्नकै लागि शनिवारको दिन भए पनि समुदायमा पुगेर काम गरिएको वडाध्यक्ष खत्रीको भनाइ छ ।
समुदायका विभिन्न टोलमा पुगेर १५ जनाको विवरण अद्यावधिक गरिएको वडा सचिव विष्णु रिजालले बताइन् । विद्युतीय रूपमा विवरणहरू अद्यावधिक गर्नको लागि देशभरबाट एकै पटक अनलाइन प्रयास गर्दा ‘सर्भर’मा समस्या आउन सक्ने भएकोले सार्वजनिक बिदाको दिन पनि काम गरिएको उनको भनाई छ । शनिवारको दिनमा ‘सर्भर’ का प्रयोगकर्ता कम हुँदा बायोमेट्रिक गर्नको लागि सहज हुने भएकोले शनिवारको दिनलाई उपयोग गरिएको वडा सचिव रिजालको भनाइ छ ।
कर्मचारीहरू र जनप्रतिनिधिहरूको एक दिनको प्रयासले मात्रै पनि धेरै जनाको काम समयमै सम्पन्न गर्न सहज भएको वडा सदस्य राजु क्षेत्रीले बताए । वडा कार्यालयले सकेसम्म जनताको नजिकै रहेर जनमैत्री काम गर्ने प्रयास गरिरहेको भन्दै उनले साना साना प्राविधिक कामले पनि वडावासीहरूलाई ठुलो सहयोग हुने उनको भनाइ छ ।





