आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिचौलीयाले कब्जा गर्ने समाजवाद चाहिएको छैन : उपमहासचिव पुन

बिचौलीयाले कब्जा गर्ने समाजवाद चाहिएको छैन : उपमहासचिव पुन

‘बिचौलीयाहरु दलमा प्रवेश गरेर विकृत बनाइरहेका छन्, जसले गर्दा नेपाली प्रकृतिको समाजवादमा पुग्न कठिन भैरहेको छ’ उनले भने, ‘स्वार्थ समूहहरु दलमा प्रवेश गर्दा दलको काम नै विकृत भैरहेको छ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

बागलुङ/नेकपा माओवादीका उपमहासचिव बर्षामान पुनले बिचौलीयाले कब्जा गर्ने अर्थव्यवस्थाले समाजवादलाई बाटो छेकेको बताएका छन् । उनले जनता र श्रमजिवी वर्ग समावेश भएको उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर नेपाल सुहाउने समाजवादमा जानुपर्ने बताए । पुनले तीन खम्बे अर्थनीति नै नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । उनले चीनको मोडलमा सहकारीलाई समावेश गर्दा नेपाली प्रकारको अर्थतन्त्र बन्ने र त्यसले मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने बताए ।

माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको आयोजनामा भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा पुनले नेपालमा दलालहरुले लोकतन्त्र, अर्थतन्त्र र समाजवादलाई नै कब्जामा राख्ने काम गरिरहेको बताए । ‘बिचौलीयाहरु दलमा प्रवेश गरेर विकृत बनाइरहेका छन्, जसले गर्दा नेपाली प्रकृतिको समाजवादमा पुग्न कठिन भैरहेको छ’ उनले भने, ‘स्वार्थ समूहहरु दलमा प्रवेश गर्दा दलको काम नै विकृत भैरहेको छ ।’ नेपालका कुनैपनि राजनीतिक दलहरु त्यसबाट अछुतो नभएको उनको टिप्पणी छ ।

प्रतिपक्षमा बसेकोले नेकपा माओवादी तुलनात्मक रुपमा शुद्द बन्न पाएको भन्दै राजनीतिमा पनि निरंकुशतावाद हाबी भएको बताए । निर्वाचित तर निरंकुश नेतृत्वले बजार कब्जा गरिरहेको उनको आरोप छ । ‘अमेरिकी राष्ट्रपति पनि निर्वाचित तानाशाहको उदाहरण हुन्’ उनले भने, ‘त्यसको असर संसारभर परेको छ ।’ बजार कब्जा गर्न विश्व व्यापार संगठन खोलेकोमा कब्जा नभएपछि अतिवादी राष्ट्रियवादी देखिएर बजारलाई एकाधिकारमा लैजानेहरुबाट अर्थतन्त्रमा असर परेको उनको भनाइ थियो ।

अमेरिकामा के भयो ? चीनमा के भयो भन्ने अवस्थाबाट नेपाल जस्ता साना देशको अर्थतन्त्र निर्भर रहने भएकोले नेपालले समाजवादी अर्थतन्त्र विकास गर्न नसकेको समेत उनले बताए । त्यसका लागि उनले ठूला दलहरुले साझा एजेण्डा बनाएर समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने बताए । ठूला उद्योग, खानी, पानी र महत्वपुर्ण क्षेत्रहरु राज्यले संचालन गर्ने, मझौला उद्योगमा राज्य र नीजि लगानी गर्ने र साना व्यवसाय नीजिको जिम्मा दिने गर्नुपर्ने उनले बताए ।

विश्व अर्थतन्त्रको अध्ययनबाट पनि यो मोडल उत्कृष्ट भएको भन्दै स्क्यानडेभियन देशहरुले यो मोडलबाटै समृद्दि ल्याएको उनले बताए । सामाजिक सुरक्षाको विषयहरु शिक्षा र स्वास्थ्य राज्यको जिम्मामा लैजानु पर्ने पनि उनको भनाइ थियो । संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय पदाधिकारी तथा स्थानीय व्यवसायी पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->