आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘व्यवहारमा बालमैत्री नगर देखियोस्’

‘व्यवहारमा बालमैत्री नगर देखियोस्’

बालमैत्री नगर भैसकेका स्थानमा त विद्यालयमा शौचालय राम्रो नभएको, चमेना गृहमा अर्गानिक खाना नपाउने विषयदेखि फर्निचर र खानेपानीको सुविधा बालमैत्री नभएका विषय पनि चासोमा पर्न थालेका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

तस्बिर : नारायण रिजाल
बागलुङ/स्थानीय सरकारले धेरै प्रकृतिका काम गर्छ । विकास निर्माण, दैनिक प्रशासनिक काम, नागरिकको सेवाका लागि सिफारिस दिने तथा विपतमा साथ र राहत दिने काम स्थानीय सरकारको दैनिकीजस्तै छन् ।

त्यस बाहेक महिला, दलीत, जनजाती, बालबालिका, जेष्ठ नागरिक, अल्पसंख्यक, एकल, अपांगता भएका नागरिकसमेतलाई लक्षित क्षेत्रमा राखेर थप कार्यक्रम दिनुपर्ने बाध्यात्मक परिस्थिति छ । त्यसका लागि कतिपय सशर्त शीर्षकका कार्यक्रमसमेत हुन्छन् । त्यसबाहेक पनि विद्यालय तहका किशोरकिशोरीका थप माग र आशा तथा भरोसा हुने गर्छन् ।

बालमैत्री नगर भैसकेका स्थानमा त विद्यालयमा शौचालय राम्रो नभएको, चमेना गृहमा अर्गानिक खाना नपाउने विषयदेखि फर्निचर र खानेपानीको सुविधा बालमैत्री नभएका विषय पनि चासोमा पर्न थालेका छन् । त्यतिमात्र होइन, पर्यटन, कृषि, शिक्षा जस्ता क्षेत्रमा के काम भएका छन् त्यो पनि विद्यार्थीले जान्न चाहेका छन् ।

बिहान बिहानै विद्यालय जानुपर्दा कुकुरको समस्या, चोकचोकमा उज्यालो नभएको समस्यादेखि विद्यालयको गुणस्तरीय शिक्षाबारे नगरपालिकाको अनुगमन चाहिएको विद्यार्थीको माग छ । बागलुङ जेसीजले आयोजना गरेको ‘विद्यार्थीसँग मेयर’ कार्यक्रममा कक्षा १० देखि १२ सम्म पढ्ने विद्यार्थीले समसामयिक विषयदेखि आत्मनिर्भर बागलुङ बनाउने योजनबारे पनि प्रश्न उठाएका थिए । ‘सामुदायिक कुकुर व्यवस्थापनको अवस्था कता गयो ?,’ कक्षा ११ का विद्यार्थी निकेश खड्काले प्रश्नसहित भने, ‘सडक बनाउने काम मात्र नभइ दिगो सडक कसरी बनाउने भन्ने नगरको सोच चाहियो ।’ उनले दिगो विकासको लक्ष्यले नीति बनाउन पनि आग्रह गरे ।

अर्का सहभागि सिम्रन बोहोराले बालमैत्री नगर भैसकेपछि विद्यार्थीको क्षमता पहिचान गर्ने गरी विज्ञान प्रदर्शनीलाई नियमित बनाउनुपर्ने, बालमैत्री घोषणा भएपनि बालश्रम अन्त्य नभएको विषय नगरको चासोमा पर्नुपर्ने सुझाव दिइन् । अर्का सहभागी असिम रिजालले कक्षा १२ पास भएपछि अधिकांश युवा विदेश गए, उनीहरुलाई स्वदेशमा रोक्न नगरले रोजगारका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । नगरसँग युवा रोक्ने योजना र कार्यक्रम के छ ? भनेर उनले जिज्ञाशा पनि राखे ।

सहभागी कुशुम क्षेत्री, सोहन हरिजन, सिम्रन बोहोरा, निशा खड्का, निमिता शाक्य, असिम रिजाल, संगम पौडेल, साया किसान लगायतले पनि पढ्दै कमाउँदै कसरी गर्न सकिन्छ ? पर्यटनको क्षेत्रमा के काम भए ? गुणस्तरीय शिक्षाको लागि नगरको योजना के छ ? जस्ता जिज्ञाशा राखेका थिए ।

बागलुङ नगर पालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै विद्यार्थीको जिज्ञाशाको जवाफ दिएका थिए । बालमैत्री नगर र त्यसपछि के के कार्यक्रम भए भन्ने जिज्ञाशा दिनु अघि श्रेष्ठले अधिकांसलाई बालमैत्री अबधारणा थाहा पाएकोमा खुसी व्यक्त गरे । ‘अब बालमैत्री के हो भनेर चिनाउन र बुझाउन परेन, त्यो महत्वपूर्ण संचार भएको छ,’ श्रेष्ठले भने, ‘त्यसको दिगोपनाका लागि कैयौं काम भएका छन्, कतिपय काम अझै निरन्तर रुपमा गरिने योजनाभित्र पर्छ ।’

नगरपालिकाले विपन्न भएकै कारण उच्च शिक्षा पढ्न सकिन भन्नेलाई निशुल्क पढाउने योजना श्रेष्ठले सुनाए । कानून संकायका लागि १० जनालाई पढाउने लक्ष्य भए पनि विद्यार्थीनै नआएपछि थोरैलाई पढाएको श्रेष्ठको भनाइ छ । बलेवास्थित कृषि अध्यापन गराउन पनि छात्रवृत्ति दिने नगरको लक्ष्य उनले सुनाए । त्यसबाहेक विद्यालयमा पढ्न नगरपालिकाले आवस्यक शैक्षिक लगानी, पोशाक लगायतमा छात्रवृत्ति दिने बताए ।

आगामी तिहारसम्ममा कुकुर होस्टेल तयार गरेर सामुदायिक कुकुर व्यवस्थापन गरिने, हाइम्याक्स विद्युतीय बत्ति बालेर नगरलाई उज्यालो बनाउने, छिटै विज्ञान प्रर्दशनी गरेर विद्यार्थीका रचनात्मक क्रियाकलाप उजागर गराउने लक्ष्य उनले राखेका थिए । हरेक कक्षा कोठा स्मार्ट बोर्ड सहितको बनाउने, विद्यामन्दिर माविमा चिल्ड्रेन पार्क र थप शौचालय बनाउने लक्ष्य पनि सुनाए ।

पर्यटन प्रवद्र्दनका लागि त थप कार्यक्रम नै राखिएको श्रेष्ठको भनाइ छ । धार्मिक क्षेत्रहरुको पहिचान बढाएर जिल्लाको पर्यटन मार्फत जिल्ला र नगर समृद्द बनाउन सकिने समेत श्रेष्ठको भनाइ छ । मेयरसँग प्रश्न गर्न सदरमुकाम आसपासका धेरै विद्यालयका विद्यार्थी सहभागि थिए । उनीहरुले कतिपय अनौपचारिक प्रश्न पनि गरे ।

बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुभम राजभण्डारीको संचालनमा सम्पन्न कार्यक्रमको सहजीकरण भने जेसीजका कानूनी सल्लाहकार ताराप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->