बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा पनि जेनजी समूहले शान्तिपूर्ण प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् ।
नेताका छोराछोरीको अवस्था र नागरिकको अवस्थामा आकास–जमिनको परक परेको भन्दै त्यसको कारण खोजी गर्नुपर्ने समेत उनीहरुको माग छ । सोमबार बागलुङ बजारमा युवाहरुको ¥याली निस्केर बजार परिक्रमा गरेको थियो । उनीहरुले भ्रष्टाचार विरोधी नारा लगाएका थिए भने राजनीतिक नेतृत्वप्रति पनि आरोप लगाएका थिए ।
प्रद्र्धशनलाई स्थानीय युवाहरुले नेतृत्व गरेका थिए । क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरु कलेजको पोशाकमै निस्केका थिए । प्रद्र्धशनलाई शान्तिपुर्ण बनाउन जिल्ला प्रहरीले पर्याप्त सुरक्षाकर्मी खटाएको थियो । विरोध ¥यालीपछि युवाहरुले कोणसभा पनि गरेका थिए । यो आन्दोलनलाई सुशासन कायम गराउने पहलको रुपमा हेरिएको भन्दै युवाहरुले राज्यले युवाको माग सम्बोधन गर्नुपर्ने बताएका थिए ।








