पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाभित्र लगाउँदै आएको निषेधाज्ञा र कर्फ्यू आज विहान ९ बजेदेखि हटाएको छ । कास्कीमा विकसित घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा कर्फ्यू आदेश जारी गरिएो थियो ।
जिल्ला प्रशासन कार्यालयले आजै एक सूचना जारी गर्दै यसअघि लगाइएको कर्फ्यू आदेश हटाइएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा जिल्लामा शान्ति सुव्यवस्था र पारस्परिक सद्भाव कायम राख्न, सुरक्षाका लागि आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सुचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रूपमा चलायमान बनाउन अनुरोध गरिएको छ।
सूचनामा सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदाय लगायत सरोकारवाला सम्पूर्ण पक्षहरूलाई आवश्यक समन्वय र सहजीकरण गरिदिन जिल्ला सुरक्षा समिति, कास्कीले हार्दिक अनुरोध गरेको छ।





