बागलुङ/लोकतन्त्र, गणतन्त्र र विधिको शासनलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जेनजी अगुवाहरुले बताएका छन् । उनीहरुले अहिले पनि राजनीतिक दलको अस्तित्व रहेको भन्दै आगामी निर्वाचनमा पनि सुध्रिएर आएका दलले भाग लिन पाउने बताए ।
जेनजी आन्दोलन सफल भएपछि बागलुङका युवाले गरेको पत्रकार सम्मेलनमा गणतन्त्र र बहुदलीय व्यवस्थालाई आत्मसाथ गरेरै अगाडि जाने धारणा राखेका हुन् । ‘अबको चरणमा हामी सबै युवा, नागरिक र सरोकारवालालाई आपसी एकता, सकारात्मक सोच र पारदर्शीता तथा रचनात्मक योगदानमार्फत राष्ट्र निर्माणमा लाग्न अपिल गर्छौँ,’ जेनजी बागलुङद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आजको सशक्त र सचेत पुस्ता देशको भविष्य निर्माण गर्ने पिँढी हो ।’ सबैको साझा प्रयासबाट मात्र यो अभियान सफल हुने उनीहरुको भनाइ छ ।
आन्दोलनको आवस्यकता र औचित्य तथा नेपालको परिस्थितिबारे जेनजीहरुले पत्रकार सम्मेलनमार्फत् शनिबार प्रष्ट्याएका छन् । नेपालमा भ्रष्टाचार मौलाउनु, विधि विधान र पद्धति बिग्रनुमा जेनजी पुस्ताको कुनै हात थिएन । तर यो पद्दती बिगँ्रदाको परिणाम भोग्न भने यो पुस्ता बढी बाध्य भयो । समाजवाद ल्याउँछौं भन्नेले पनि केही गरेनन्, जनयुद्ध लडेकाले पनि केही गर्न सकेनन् । तसर्थ जेनजी आन्दोलनमार्फत बलिदानी गर्न युवाहरु फेरि सडकमा आउनुप¥यो ।
अब जेनजी पुस्ताको काँधमा धेरै जिम्मेवारी आएको छ । यो जिम्मेवारी पूरा गर्न नसकेमा अबको केही वर्षमा फेरि नयाँ पुस्ताले जेनजीलाई पनि सराप्ने छ । तसर्थ भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, नागरिकलाई नयाँ पद्धतिमा आशावादी हुने गरी सेवा प्रवाह गर्नुपर्ने छ । छिट्टै हुन लागेको निर्वाचनमा सक्षम र दक्ष उमेदवारहरु पठाएर देशलाई सही रुपमा राजनीतिक दिशा निर्देश गर्नुपर्छ ।
जेनजी बागलुङको आन्दोलनका अगुवाहरुले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत् यस्तै सन्देश दिएका हुन् । उनीहरुले अब जिम्मेवार भएर अगाडि बढ्ने र नयाँ नेपालका लागि योगदान गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा आन्दोलनका अगुवा अभिषेक कटुवालले अबको केही समयमा यो पुस्ताले उदाहरण दिन नसके फेरि देश असफलतामा जाने बताए । ‘अब हामीले सबै काम सकियो भनेका छैनौँ, यो त सुशासनको बाटोमा हिँड्ने सुरुवात हो,’ उनले भने, ‘भ्रष्टाचार गर्ने सोच पनि नआउने गरी समाजमा नयाँ विचार जन्माउनु पर्छ ।’ अहिलेको आन्दोलनले नेतालाई झस्काएको भन्दै उनले कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्न थप अभियान चलाइने उनले बताए ।
सही नेतृत्व आयो भने कर्मचारीतन्त्र त्यहाँबाट पनि सुधार हुने भन्दै उनले सबैको साथ र सहयोगबाटै अगाडि बढ्ने पनि बताए । ‘हामी सबै दक्ष छैनौं, हाम्रो चाहना अनुसारको नेतृत्व गरेर अग्रजले पनि साथ दिनुपर्छ,’उनले भने, ‘आन्दोलनलाई पनि नेपालका धेरै नागरिक र अगुवाले साथ दिएका थिए, हामीलाई सही मार्ग निर्देशनमा साथ दिनुहुनेछ ।’ सुशिला कार्कीलाई प्रधानमन्त्री बनाएको विषयमा आएका टिप्पणीलाई पनि सकारात्मक लिंदै निर्वाचनबाट युवा पुस्ताको नेतृत्व स्थापित गर्ने उनको भनाइ छ ।
अर्का अगुवा रोहन भण्डारीले कठिन समयमा आएको जिम्मेवारी पूरा गर्न जेनजीहरु सक्रिय बन्ने बताए । भ्रष्टाचार संस्कृति बनेकोले त्यसलाई ब्रेक गर्ने अबको चुनौती भएको उनले बताए । ‘भ्रष्टाचार यति धेरै संस्कृति भएर आएको छ कि हरेक नागरिकलाई भ्रष्टाचारमा लाग्न बाध्य बनाइएको छ,’ उनले भने, ‘अब हरेक नागरिक सुध्रिनुपर्छ ।’ सक्षम र योग्यहरुले अवसर पाउनुपर्छ । उनीहरुबाट देशको शासन संचालन गर्दा जनताले राहतको महसुस गर्नुपर्ने भण्डारीले बताए ।
जेनजी अभियानलाई साथ दिएका सुदन गुरुङसहितका अगुवालाई उनीहरुले धन्यवाद दिए । आन्दोलनमा मारिएका युवा प्रति श्रद्दाञ्जली दिए । पत्रकार सम्मेलनपछि बागलुङको लोकतान्त्रिक चोकमा आएका उनीहरुले एक मिनेट मौन धारण गरेर शहीदलाई सम्झेका थिए । साथै, आन्दोलन सफल पार्नेलाई धन्यवाद दिए ।





