पोखरा/डोजरसहित पुगेका जेनजी प्रदर्शनकारीले जलाएको जिल्ला प्रहरी कार्यालय हेर्न पुगेका विजय लामाको निधन भएको छ ।
भदौ २४ को राती प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । सोही आगजनी हेर्न गएका चितवनका ४२ वर्षीय लामा सिलिन्डर विस्फोट हुँदा आगोको लप्काले जल्न पुगेका थिए । उनको उपचारको क्रममा शनिबार निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुचना अधिकारी सुशील अर्यालले जानकारी दिए ।
आगलागीमा परेर घाइते बनेका लामा प्रहरी कार्यालयको गेटबाहिर आइपुग्दासम्म बोल्न सक्ने थिए । त्यही आगलागी हेर्न गएका, ५÷६ वर्ष अगाडि भेटेका साथी दलबहादुर गुरुङले सुरुमा ठम्याएनन् । तर, पछि थाहा भयो उही साथी रहेछन् ।
अस्पताल पु¥याउँदा ७८ प्रतिशत शरीर जलिसकेको चिकित्सकले बताएको उनले जानकारी दिए ।
आगलागीमा परेका लामाले मोबाइल पनि आगोभित्रै फालेका कारण गुरुङले उनको आफन्त भेटाउन संघर्ष गर्नुप¥यो । जिप्रकाको गेटबाट अस्पताल पुग्दासम्म लामाको आवाज गइसकेको थियो । उनी पोखराको दीप भन्ने ठाउँमा बस्छन् भन्ने सुनेका कारण बिहीबार बस्ने ठेगाना खोज्न पनि गुरुङ पुगेका थिए । तर, पत्तो पाउन सकेनन् । बल्लतल्ल चितवनमा उनकी दिदीको नम्बर भेटाएर शुक्रबार बिहानै गुरुङले सम्पर्क गरेका थिए ।
लामासँगै जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
यसअघि प्रदर्शनकारीकै आगजनीका कारण पोखरा नयाँबजार र लेकसाइडको व्यापारिक भवनमा युवती र महिलाको ज्यान गएको थियो ।
लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी पोखराकै एक स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वस्थानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, नयाँबजारमा भेटिएको अर्को शव ३५ वर्षीया सञ्जु नगरकोटीको भएको प्रहरीले जनाएको छ । उनले गत असार १ गतेदेखि मात्रै नयाँबजारको सोरूममा काम गर्न थालेकी थिइन् । त्यसअघि उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।
प्रहरीले दुवै जनाको मृत्यु मंगलबार प्रदर्शनकारीले लगाएको आगोका कारण भएको जानकारी दिएको छ ।





