बागलुङ/जेनजी आन्दोलनको क्रममा जेलबाट भागेका ८ जना थुनुवा र कैदी बागलुङमा पक्राउ परेका छन् । पक्राउ परेका थुनुवा र कैदीको नाम र ठेगाना समेत प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ६ जना जबरजस्ती करणीका अभियुक्त छन् भने १ जना कर्तव्य ज्यान तथा १ जना ज्यान मार्ने उद्योगका अभियुक्त छन् ।
पक्राउ पर्नेमा पोखरा कारागारबाट भागेका जबरजस्ती करणीका अभियुक्त बलबहादुर थापा, म्याग्दी कारागारबाट भागेका जबरजस्ती करणीकै अभियुक्त जनक पुन, केन्द्रीय कारागारबाट भागेका जबरजस्ती करणीकै अभियुक्त टेकबहादुर बिक र चितवन कारागारबाट भागेका जबरजस्ती करणीका अभियुक्त पर्शुराम खत्री छन् ।
बाल सुधार केन्द्र सराङकोटबाट भागेका अभिषेक सुनार जबरजस्ती करणीका अभियुक्त हुन् भने कर्तव्य ज्यान मुद्दाका रोजन खत्री पनि पक्राउ परेका हुन् ।
त्यस्तै ज्यान मार्ने उद्योगका थुनुवा मिलन परियार पनि पक्राउ परेका छन् । जबरजस्ती करणीकै अभियुक्त पुर्णलाल बिक पनि पक्राउ परेका हुन् । उनी पनि सराङकोटबाट भागेका थिए ।
प्रहरीले पक्राउ परेका सबैलाई सम्बन्धीत कारागार र सुधार केन्द्रमा पठाउने तयारी गरेको छ । भागेर जिल्ला प्रवेश गर्दा मालढुंगा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो भने केहीलाई घरमा लुकीछिपी बसेको अवस्थामा भेटाएको थियो । म्याग्दी कारागारका कैदीलाई भने आइतबार बिहानै पठाइसकिएको छ ।





