पोखरा/ जेन जीको आन्दोलनका क्रममा सबैभन्दा बढी निशानामा परेका गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र उनको परिवार अहिले फेरि अर्को तनावमा परेका छन् ।
मन्त्री थापा परिवारको घरदेखि व्यावसायिक प्रतिष्ठानसम्म आगजनी भएर ध्वस्त भएका बेला ठगहरुको समूहले थापा परिवारका सदस्यहरूको नाममा नक्कली फेसबुक आईडी बनाएर विभिन्न व्यक्तिहरूसँग सहयोग रकम माग्दै ठगी कार्य गरेको सार्वजनिक भएको छ । मन्त्री थापा र उनका भाई व्यवसायी ध्रुव थापाले सामाजिक सञ्जालमार्फत अपिल गर्दै ‘हाम्रो वा हाम्रो परिवारको कसैको नामबाट कुनै माध्यमद्वारा सहयोग रकम मागिएको पाइए तत्काल प्रहरीलाई जानकारी गरिदिनुहोस्’, भनेका छन् । उनीहरूले प्रहरीले केही संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको पनि जनाएका छन् ।
घर र रिसोर्ट जलाइएको भोलिपल्टै मन्त्री थापाका छोरा सौगात थापाको नाममा नक्कली फेसबुक आईडी बनाइयो । त्यसमार्फत आफू ठूलो समस्यामा परेको भन्दै विभिन्न व्यक्तिहरूसँग रकम मागियो । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उक्त आईडीमार्फत एक लाख रुपैयाँ मागिएको भन्दै फेसबुकमै जानकारी दिइन् । त्यसपछि अरु धेरै व्यक्तिहरूले पनि त्यस्तै किसिमले रकम मागिएको विषय सार्वजनिक गरे ।
यसै क्रममा पोखरा ट्रेड मलमा व्यवसाय गर्नेहरुसँग पनि नक्कली आईडीमार्फत रकम असुल्ने प्रयास भयो । एक व्यापारीलाई नगदमै रकम लिन बोलाइएपछि उनले प्रहरीलाई खबर गरे । त्यसै क्रममा प्रहरीले नगद लिन पुगेका ४ जनालाई पक्राउ ग¥यो ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल-८ का २८ वर्षीय विवेक गुरुङ, पोखरा-२९ का २७ वर्षका बुद्ध गुरुङ, पोखरा–५ का ३७ वर्षीय मीनराज तामाङ र पोखरा–१७ का ४० वर्षीय दीपक ढकाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूसँग लुटपाटमा प्रयोग हुने धारिलो हतियारसमेत भेटिएको छ । विवेक गुरुङको साथबाट विभिन्न दरका १ लाख २२ हजार रुपैयाँ र दापसहितको धारिलो तरबार बरामद गरिएको छ भने बुद्ध गुरुङको साथबाट फलामको स्टिक बरामद गरिएको छ । उनीहरूले नक्कली आईडीमार्फत मात्र नभई अन्य स्थानमा हातहतियार देखाएर रकम असुली गरेको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।
मन्त्री थापा र उनका परिवारका घरदेखि व्यापारिक प्रतिष्ठानसम्म जलेर ध्वस्तमात्रै भएनन्, २ जनाले जलेर ज्यान नै गुमाए । मन्त्री थापाको अंशुभरा स्क्वायरमा दोलखाकी स्वस्थानी खड्का र नयाँबजारमा मन्त्रीका भाइ ध्रुवले सञ्चालन गरेको हिमालय अर्गनाइजेसनअन्तर्गतको गाडी शोरुममा जलेर दुई जनाले ज्यान गुमाएका हुन् ।





