पोखरा/दुई हप्ता अघि पूजा सुनार मणिपाल अस्पताल पुगिन् । सुत्केरी व्यथा लागेगी पूजा स्याङजाबाट उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगिन् त्यहाँ बेड खाली छैन भनेपछि मणिपाल शिक्षण गइन् । उपचार भयो । अस्पताल पुगेकै दिन बच्चा जन्मियो । घर बनाउने काम (लेवर) गर्दै आएकी पूजाको दुइ साता उपचार भयो । दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आइरहेकी उनीसँग खाना खाने र अस्पतालमा तिर्ने पैसा थिएन । आइतबार मणि पालले उनको डिस्चार्ज गरिदियो तर जाने बस भाडासमेत नभएपनि उनी अस्पतालमै बसिन् । उता, आइतबार अस्पतालले उनको डिस्चार्ज गर्नुअघि तीन महिनामा सबै पैसा तिर्ने सर्तमा कागज गर्दै नागरिकता धितो राखिदियो ।
कामको शिलशिलामा पूजा र उनको श्रीमान हरि सुनार स्याङजाको भेडावारी पुगेका थिए । अहिले उनीहरुसँग खाना र अस्पतालमा तिर्ने पैसा नभएपछि बिचल्ली भएको छ । ठेकेदारसमेत सम्पर्कमा नहुँदा खानालाई समेत समस्या परेको पूजाका श्रीमान हरि सुनाउँछन् । ‘अहिले अस्पतालबाट डिस्चार्ज भए पनि कतै जाने पैसा छैन् । हामी पैसा नभएकै कारण एक दिन अस्पतालमै बस्यौं । हामीलाई निकै गाह्रो भएको छ । हामीसँ खाने पैसा पनि छैन् ।’

अहिले पूजालाई हरिको दिदीले काम गर्ने साहुको घर कृस्तीमा लगिएको छ । त्यहाँ एउटा सानो कोठा बस्न दिइएको छ । सोमबार केही दाताको सहयोगमा तत्कालै पाँच हजार सहयोग र अस्पतालबाटै निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेर उनलाई कृस्तीसम्म पु¥याइएको हो । सुत्केरी र शिशुको मुटुमा समस्या भएका कारण ठूलो खर्च आएको हो । शिशुको ९ दिन आइसीयूमा राखेर उपचार गरिएको थियो भने आमाको ५ दिन ।
नवलपरासी देवचुली २८ विघाका उनीहरु कामकै सिलसिलामा स्याङ्जा पुगेका थिए । ‘अस्पतालमा थुप्रै खर्च आएको थियो । नागरिकता राखेर ३ महिनामा पैसा तिर्ने कागज गरेर हामीलाई छाडि दिनुभएको छ । एक लाख २५ हजार तिर्नुपर्नेछ । हामीलाई सहयोग गरिदिनुहोस्,’ हरिले भने, ‘अहिले दिदीको साहुको घरमा बस्ने ठाउँमा पनि समस्या नै छ । गाडी चढ्नै लागि पनि टाढा जानुपर्छ । बच्चा र आमालाई केही भइहाल्यो भने पनि अस्पताल पुग्न कठीन छ ।’ उनको श्रीमतीको मुटुको भल्भमा समस्या रहेको छ । उनको थप उपचारका लागि काठमाडौं लानुपर्ने स्थिति रहेको हरिले सुनाए । सोमबार मिलन घिमिरेले पाँच हजार रुपैयाँ सहयोग गरेका थिए ।





