पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका एक वडावासी युवाहरुको उद्धार गरेका छन् ।
वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र परेका थिए । भिसाको म्याद सकिएपछि उनी काम गर्ने कम्पनीले तलब नदिएर कामबाट निकालिदिएको थियो । आफ्नो वडाको युवा अलपत्र परेको र घर फर्कने पैसासमेत नभएको जानकारी पाएपछि त्यहाँ पुगेका अध्यक्ष थापाले रानाभाटको खोजी थालेका थिए । रानाभाटलाई भेटेपछि अध्यक्ष थापाले नेपाल फर्काउन कानूनी र खर्चको व्यवस्था गरेका थिए । कतारबाट फर्केका अमृतलाई मंगलबार अध्यक्ष थापाले परिवारको जिम्मा लगाएका छन् । परिवारमा अमृतको पुनर्मिलन भावुक बनाउने खालको थियो ।
‘भाइलाई दुबईदेखि नै उद्धार गरेर सकुशल परिवारमा पुनर्मिलन गराउन पाउँदा मेरो मन आनन्दित भएको छ ।अमृत भाइको आगमनले परिवारको आँसु पुछिएको छ,घरमा खुसीको सीमा छैन ।यो क्षण मैले शब्दहरूबाट अभिव्यक्त गर्न सक्दिन,’अध्यक्ष थापाले भनेका छन्,‘ उहाँलाई यसरी उद्धार गरेर घरसम्म ल्याउँदा,मैले साँच्चिकै जनताको प्रतिनिधि भइ कर्तव्य पूरा गर्न पाएको महसुस गरेको छु ।’
परदेशमा अनेकौँ दुःख भोगेका भाइ अमृतले अब गाउँमै बसेर केही राम्रो काम गर्नका निम्ति वडाले सघाउने पनि उनले बताए ।





