बागलुङ / बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा सोमवार फुलपाती भित्राइएको छ । नेपाली सेना, जनप्रथ प्रहरी र शसस्त्र प्रहरी बलले मन्दिरमा फुलपाती भित्राएको हो ।
सो अवसरमा तीनवटै सुरक्षा निकायको टुकुडीले सलामी अर्पण अर्पण गरेका थिए । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, सुरक्षा निकायका प्रमुखसहित जिल्लाका विशिष्ट व्यक्तिहरुले पूजाआजासमेत गरेका थिए ।
बडादसैँको सप्तमीमा कालिका भगवतीमा फूलपाती चढाउने पुरानो परम्परा हो । यस दिनलाई विशेष हर्षबढाइँका साथ मनाउने चलन रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
कालिका भगवती मन्दिरमा नवरात्रको पहिलो दिन घटस्थापनादेखि नै भक्तजनको चहलपहल बढेको छ । बडादसैँको नवदुर्गामा यहाँ विशेष पूजाआजा हुने गर्छ । शक्तिस्वरुपा देवी भवगतीको दर्शनका लागि देशका विभिन्न भू–भागबाट भक्तजनहरु कालिका मन्दिर आउने गरेका छन् । नवरात्रको अवधिमा बिहान तीन बजेदेखि नै पूजाआजा सुरु हुने गरेको छ । पूजा व्यवस्थापन, सुरक्षालगायत भक्तालुको सुविधाका लागि समितिले विशेष प्रबन्ध मिलाएको अध्यक्ष खड्काले बताए ।

कालिका भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा महाकाली, महालक्ष्भी र महारसरस्वतीको पूजाआजा हुने गरेको छ । नवरात्रभर बली दिएर पूजा गरिन्छ । मन्दिरमा कुखुरा, हाँस, बोका, सुँगुर र राँगोको बली दिने प्रचलन छ ।
वि.सं. १५९१ मा स्थापना भएको यस मन्दिरको आफ्नै ऐतिहासिक महत्व छ । तत्कालीन पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ । पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्बदन्दी छ ।
तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूज्ने गरिन्छ । तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको हो।





