स्याङ्जा/जिल्लाको भीरकोट नगररपालिका १ मा रहेको भीरकोट मैदानमा रमाइलो सुरू भएको छ । बयरघरी पिस युथ क्लब मेलाको आयोजक हो ।
बडादशैं र दीपावलीको पावन अवसरमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौथो बयरघारी रमाइलो मेलाको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोट उद्योग वाणिज्य संघलाई मेला संचालन गर्न क्लबसँग सहकार्य गर्न अनुरोध गरे ।
भीरकोट उद्योग वाणिज्य संघले क्लबलाई र भीरकोट नगरपालिकालाई व्यापारिक स्टल नराख्न र खेलकुद प्रतियोगिता मात्रै संचालन गर्न आग्रह गर्न आग्रह गर्दै नगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको थियो । तर, वाणिज्य संघको आग्रह कसैले नसुनेपछि संघका पदाधिकारी र सदस्यहरू उद्घाटन समारोहमा सहभागी भएनन् ।
उद्घाटन कार्यक्रममा नेकपा माओवादीका मीनप्रसाद कोइराला, नेकपा एमालेका विश्वनाथ अर्याल, निवर्तमान नगर प्रमुख छायाराम खनालले पनि मन्तव्य राखेका थिए ।
क्लबका अध्यक्ष रोशन गुरुङका अनुसार १ सय १५ व्यापारिक स्टल रहने मेलामा १० वटा स्टल कृषि उपजको लागि निःशुल्क उपलब्ध गराइएको छ । मेला ११ दिनसम्म सञ्चालन हुनेछ । मेलामा पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता पनि हुनेछ । २५ गतेदेखि संचालन हुने भलिबल प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टीम समेत सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार,तृतीय पुरस्कार ४० हजार र सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ रहेको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए ।
मेलामा भलिबल प्रतियोगिताका साथै विद्यालय स्तरीय नृत्य र रत्यौली प्रतियोगिता पनि सञ्चालन हुनेछ । मेलालाई थप रमाइलो बनाउन स्थानीय र राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती समेत रहने संस्थाका सचिव रेश्मा गुरुङले जानकारी दिइन् ।





