बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेनजी आन्दोलन र राष्ट्रिय हितः युवाको आवाज कि बाह्य स्वार्थ ?

जेनजी आन्दोलन र राष्ट्रिय हितः युवाको आवाज कि बाह्य स्वार्थ ?


  • विकल्प घर्ति मगर
  • असोज २९ २०८२, बुधबार

नेपालमा हालै जेनजी नामक समूहद्वारा सुरु गरिएको आन्दोलनले देशको राजनीतिक, सामाजिक र वैचारिक वृत्तमा व्यापक चर्चा पाएको छ । भाद्र २३ गतेबाट प्रारम्भ भएको यो आन्दोलन स्थायित्व, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको आवाजका रूपमा अघि आएको थियो । देशमा सुशासन, जिम्मेवार नेतृत्व र दीर्घकालीन राजनीतिक स्थायित्वको माग गर्नु लोकतान्त्रिक अभ्यासकै हिस्सा हो । तर पछिल्ला घटनाक्रमले यसको मूल उद्देश्य र स्वरूपमा केही विचलन देखिएको छ ।

लोकतन्त्र र जवाफदेहिताको मूल्य
नेपालले लामो राजनीतिक संघर्षपछि प्राप्त गरेको लोकतन्त्र केवल शासन प्रणाली होइन, यो नागरिक अधिकार, उत्तरदायित्व र पारदर्शिताको संयोजन हो । लोकतान्त्रिक समाजमा नागरिकको आवाज नै परिवर्तनको आधार हो । त्यसैले युवापुस्ताले शासनमा देखिएका कमजोरी, भ्रष्टाचार र गैर–जवाफदेही नेतृत्वको विरोध गर्नु स्वाभाविक कुरा हो । तर आन्दोलन तब मात्र सार्थक हुन्छ, जब त्यो संविधान, कानुन र राष्ट्रिय हितसँग मेल खान्छ । जेन–जी आन्दोलनले सुरुवाती चरणमा पारदर्शिता, जवाफदेहिता र सुशासनका पक्षमा उठाएको आवाजले धेरै युवाहरूमा आशा जगाएको थियो । तर, पछिल्ला गतिविधिहरूमा राजनीतिक प्रभाव, वैचारिक अस्पष्टता र व्यक्तिगत प्रचार हाबी हुन थालेका देखिन्छन् । यसले आन्दोलनको विश्वसनीयता माथि प्रश्न उठाएको छ । लोकतन्त्रमा आलोचना र विरोधको अधिकार रहन्छ, तर त्यो अधिकारको प्रयोग जिम्मेवारीका साथ हुनुपर्छ ।

राष्ट्रियता र संवेदनशील भूराजनीति
नेपाल भूराजनीतिक रूपमा संवेदनशील मुलुक हो । भारत, चीन र अमेरिका जस्ता शक्तिहरूको प्रतिस्पर्धात्मक प्रभावबीच नेपालले आफ्नो सन्तुलन कायम राख्नु पर्ने स्थिती छ । यही कारण, हरेक आन्दोलन, नीति वा अभियानले राष्ट्रियता र सार्वभौमिकताको मर्यादा सम्झिनु अत्यावश्यक हुन्छ । इतिहासले प्रमाणित गरेको छ । बाह्य शक्तिहरूले नेपालको आन्तरिक असन्तोष र आन्दोलनलाई आफ्ना स्वार्थका लागि प्रयोग गर्ने प्रयास बारम्बार गरेका छन् । त्यसैले कुनै पनि आन्दोलनले यदि विदेशी एजेन्डा वा व्यक्तिगत महत्वाकांक्षालाई अघि सार्छ भने त्यो राष्ट्रको स्वतन्त्रता र स्थायित्वका लागि खतरा बन्न सक्छ ।

सुशासन र भ्रष्टाचारविरुद्धको आवाज
नेपालमा सुशासन र पारदर्शिताको कमी, नातावाद, र राजनीतिक अस्थिरताले जनतामा असन्तोष बढाएको छ । यस्ता अवस्थाविरुद्ध युवापुस्ताले आवाज उठाउनु उचित र स्वागतयोग्य हो । सुशासन भनेको कानूनी शासन, पारदर्शिता, जवाफदेहिता र समान अवसरको अभ्यास हो, जुन बिना कुनै देश समृद्ध बन्न सक्दैन । तर पछिल्लो समय ‘जेन–जी आन्दोलन” का नाममा व्यक्तिगत स्वार्थ, राजनीतिक अवसरवाद र बाह्य प्रभाव मिश्रित देखिन थालेका छन् । यस्ता प्रवृत्तिले वास्तविक सुधारको मागलाई कमजोर पार्ने जोखिम बोकेको छ । भ्रष्टाचारविरुद्धको आवाज तब मात्र प्रभावकारी हुन्छ जब त्यो नीतिगत सुधार र जिम्मेवार नेतृत्व निर्माणमा केन्द्रित हुन्छ, न कि लोकप्रियताका नारामा ।

युवा चेतना र जिम्मेवारी
युवापुस्ताको भूमिका राष्ट्रनिर्माणको मेरुदण्ड हो । उनीहरूकै हातमा लोकतन्त्रको भविष्य र सुशासनको सम्भावना निहित छ । तर त्यो शक्ति रचनात्मक, जिम्मेवार र राष्ट्रिय हितमुखी हुनुपर्छ । आज युवाहरूले आन्दोलनको नाममा भावनात्मक आवेगभन्दा बढी विवेक र दूरदृष्टि अपनाउन जरुरी छ । सडकको आवाजले परिवर्तन ल्याउन सक्छ, तर त्यसको दीर्घकालीन प्रभाव नीति र व्यवहारमा देखिनुपर्छ । त्यसका लागि युवाहरूले अध्ययन, विश्लेषण र सहभागितामूलक राजनीतिलाई प्राथमिकता दिनुपर्छ ।

नेपालको स्वतन्त्रता र सार्वभौमिकता हाम्रा सबैभन्दा ठूलो सम्पत्ति हुन् । कुनै पनि आन्दोलन, चाहे त्यो पारदर्शिता वा जवाफदेहिताको नाममा किन नहोस् । यदि राष्ट्रको हितभन्दा माथि व्यक्तिगत वा बाह्य स्वार्थ राख्छ भने त्यो देशप्रतिको बेइमानी हो ।

नेपाल अहिले अत्यन्त संवेदनशील भूराजनीतिक चरणमा छ । चीन, भारत र अमेरिका जस्ता शक्तिहरूबीचको प्रतिस्पर्धात्मक प्रभावले नेपालको सन्तुलन जोगाउन कठिनाइ बढाएको छ । यस्तो समयमा आन्दोलनका नाममा चलाइने स्वार्थपूर्ण गतिविधिहरूले नेपालको अन्तर्राष्ट्रिय छवि मात्र होइन, कूटनीतिक स्थायित्वलाई पनि कमजोर पार्न सक्छ । त्यसैले, सरकार, राजनीतिक दल, नागरिक समाज र युवा सबैले मिलेर यस्ता प्रवृत्तिप्रति सजग र जिम्मेवार रहनु आवश्यक छ । विरोध गर्न र सुधार माग गर्न सबैलाई अधिकार छ, तर त्यो अधिकारले राष्ट्रको मेरुदण्डमाथि चोट पु¥याउने काम कहिल्यै गर्न हुँदैन ।

निष्कर्ष
जेनजी आन्दोलनले उठाएका विषयहरू पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारविरुद्धको आवाज र सुशासन जनअपेक्षासँग मेल खाने छन् । तर ती मागहरूलाई यदि स्वार्थी समूह वा बाह्य शक्तिहरूले प्रयोग गर्छन् भने त्यो लोकतन्त्र र राष्ट्रियताको आत्मामाथि आघात हुनेछ । युवापुस्ताको आवाज परिवर्तनको शक्ति हो । तर, त्यो शक्ति सकारात्मक दिशामा र राष्ट्रहितको दायराभित्र रहँदा मात्र देशले स्थायी सुधार अनुभव गर्न सक्छ । नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय हितलाई सधैं प्राथमिकतामा राख्दै हरेक आन्दोलनलाई जिम्मेवार, सन्तुलित र देशहितमुखी दृष्टिकोणबाट अघि बढाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->