पोखरा/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।
संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गर्दै सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताए ।
वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् । विन्ध्यवासिनी माविका प्रधानध्यापक बसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको दावी गरे । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले संचालन गरेका थिए ।





