पोखरा/ ‘शारीरिक तन्दुरुस्तिका लागि खेलकुद’ भन्ने नाराका साथ हिलसाइड इङ्ग्लिस स्कुल, पोखरा–५ ले आयोजना गरेको दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बराल र प्राचार्य डिल्लीराम भट्टराईले कार्यक्रम संयोजक शिक्षक मीनप्रसाद सुबेदीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि खुला तथा कक्षागत रूपमा म्युजिकल चियर, डग एण्ड बोन, म्याथ रेस, बेलुन ब्रस्ट, स्पून रेस, बल कलेक्टिङ, स्विट रेसलगायत २५ भन्दा बढी रमाइला खेलहरू सञ्चालन गरिएका थिए।
त्यसैगरी कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूबिच भलिबल, फुटबल, बास्केटबल, रिले, रनिङलगायत एक दर्जनभन्दा बढी खेलहरू तहगत, अन्तरसदनात्मक र खुला प्रतिस्पर्धाका रूपमा सम्पन्न भएका थिए। खेलका विभिन्न विधामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भलिबल सिनियर छात्रातर्फ हरियो सदनले प्रथम स्थान हासिल गर्दा निलो सदन द्वितीय स्थानमा रहेको थियो। त्यसै गरी छात्रतर्फ हरियो सदन प्रथम र निलो सदन द्वितीय हुन सफल भए। यसमा उत्कृष्ट खेलाडीको उपाधि एला गुरुङ र प्रमोट बिकले प्राप्त हात पारेका थिए । फुटबल सिनियर छात्रतर्फ पहेंलो सदन प्रथम र रातो सदन द्वितीय बने भने, जुनियर छात्रतर्फ पहेंलो सदनले पुनः प्रथम र निलो सदनले द्वितीय स्थान हासिल गरे। यसमा उत्कृष्ट खेलाडीको उपाधि शिशिर मैनाली र विहान जिसीले हात पारेका थिए।
बास्केटबल सिनियर छात्रतर्फ निलो सदन प्रथम र रातो सदन द्वितीय बनेका थिए। सो खेलमा अमिष केसीले सर्वाधिक स्कोरर र रेहान गुरुङले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे। छात्रातर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय हुन सफल भए। त्यस्तै टग–अफ–वार प्रतियोगितामा सिनियरतर्फ पहेंलो सदन प्रथम र निलो सदन द्वितीय रहे भने जुनियरतर्फ पनि पहेंलो सदनले प्रथम स्थान कायम राख्न सफल भयो। विजयी समूह र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्राचार्य डिल्लीराम भट्टराईले खेलकुदले विद्यार्थीको शारीरिक सुदृढता मात्र नभई मानसिक सन्तुलन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न ठूलो भूमिका खेल्ने उल्लेख गर्दै खेल र पढाइबिचको सन्तुलनलाई जीवनको महत्वपूर्ण सिपका रूपमा प्रस्ट पारेका थिए।
विद्यालयले यस्ता कार्यक्रमहरू हरेक वर्ष नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी विद्यालयका सूचना अधिकारी होमनाथ भट्टराईले दिएका छन्।





