बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

प्रतिभा माविमा विज्ञान प्रदर्शनी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरा/  पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि विज्ञानसँग सम्बन्धित रहेर विभिन्न उपकरण र प्रोजेक्ट तयार पार्न लगाइएको थियो । तिनै सामाग्री र प्रोजेक्टलाई प्रदर्शनमा राखिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । प्रदर्शनीको प्रमुख अतिथि पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरेका थिए ।

प्राचार्य सापकोटाका अनुसार विद्यालयमा प्रदर्शनी बाहेक विज्ञान सामाग्री बनाउने विद्यार्थी समूहबीच प्रतिश्पर्धा पनि गराइएको थियो । विद्यालयका ४ कक्षा देखि १० कक्षासम्म तथा ११ र १२ कक्षाका विद्यार्थीले निर्माण गरेका प्रोजेक्टबीच प्रतिश्पर्धा गराइएको पनि सापकोटाले बताए । दसैतिहारको लामो बिदामा विद्यार्थीलाई विज्ञान विषयसँग सम्बन्धित रहेर विभिन्न सामाग्री तयार पार्न लगाएको र तिनै प्रोजेक्ट प्रदर्शनमा राखेको उनले बताए ।
‘दसै–तिहारको एकमहिने बिदालाई सदूपयोग गर्नका लागि हामीले लिखित रुपमा मात्र गरिने गृहकार्य भन्दा फरक रहेर विज्ञान प्रोजेक्ट तयार पार्न लगाएका थियौ । यसले विद्यार्थीमा नयाँ खोज र अनुसन्धानको दायरा फराकिलो बनाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘पुस्तकको ज्ञान मात्र पढेर नभई यस्ता प्रोजेक्ट तयार पार्न लगाउँदा बढी रच

नात्मक र खोजमूलक हुने गरेको छ ।’ विद्यालयले हरेक वर्ष विज्ञान विषयका विद्यार्थीका लागि यस्तै प्रदर्शनी अयोजना गर्ने गर्छ । यो वर्ष व्यक्तिगत र समूहगत गरेर करिब ३ सय ५० प्रोजेक्ट विद्यार्थीले तयार पारेका थिए ।
‘एकजनाले बनाएको उपकरण अरु विद्यार्थीका लागि पनि सिकाई बन्न सक्छ । विद्यार्थीले निकै नै मेहनत गरेर विज्ञानसँग सम्बन्धित उपकरण तयार पारेका छन,’ उनले भने, ‘साना प्रोजेक्टदेखि उड्ने हवाईजहाजसम्म पनि विद्यार्थीले तयार पारेका छन ।’ विद्यार्थीमा सिर्जनात्मकता, रचनात्मकता र नविनतम खोजीका लागि यस्ता गतिविधि आवश्यक रहेको उनले बताए । हेर्दा सामान्य लाग्ने प्रोजेक्ट तयार भएपनि ती उपकरणले निकै नै महत्व बोकेको उनले बताए । ‘एकैपटक ठूला अन्वेषण हुने होईनन । साना अभ्यासले नै पूर्णत पाउँदै जाँदा नयाँनयाँ प्रविधि तयार हुन्छन,’ उनले भने, ‘विद्यार्थीमा नयाँपन खोजी गर्न पनि जरुरी रहन्छ । प्रविधिसँग सम्बन्धित यी उपकरण बनाउनका लागि विद्यार्थीले मेहनत गरेका छन ।’ विद्यार्थीबीच भएको प्रतिश्पर्धाका उत्कृष्ट प्रोजेक्टलाई पुरस्कृत गरिने पनि उनले बताए ।

विद्यार्थीले बनाएका प्रोजेक्टको मुल्यांकन गर्नका लागि प्राडा शोभाकान्त लामिछानेको संयोजकत्वमा शिव देवकोटा र हरि बराल सहितको निर्णायक मण्डल रहेको थियो । निर्णायक मण्डलका संयोजक लामिछानेले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले भविश्यमा नयाँ प्रविधिको अन्वेषण हुँदै जाने बताए । नयाँनयाँ प्रविधिको पहिचान गर्नका लागि पनि यस्ता गतिविधि गर्न जरुरी छ । कार्यक्रमका प्रमुख अतिथि आचार्यले यस्ता गतिविधिले विद्यार्थीको ज्ञानलाई फराकिलो बनाउने बताए । ‘विद्यार्थीका यी प्रोजेक्टमा किताबि मात्र नभई जीवनमा सिकेको वास्तविक ज्ञान देख्न सकिन्छ । नवप्रवद्र्धनका यस्ता कार्यक्रमले शिक्षाको गुणस्तर बढाउन सघाउँछ,’ आचार्यले भने, ‘विद्यार्थीमा खोजी र अनुसन्धानको सुरुवात विद्यालय तहबाटै सुरु हुनुपर्छ । जसले विद्यार्थीमा खोजीको चाँसो बढाउन सघाउँछ ।’

विद्यालय संचालक समितिका अध्यक्ष पौडेलले विद्यार्थीको शिक्षालाई व्यावहारिक बनाउनका लागि यस्ता गतिविधिले महत्व राख्ने बताए । ‘विद्यार्थीले पढेको कुरालाई वास्तविकतामा परिवर्तन गरेका छन । यो निकै नै महत्वपूर्ण विषय हो, जसले विद्यार्थीलाई ज्ञानको दायरा फराकिलो बनाउन सघाएको छ,’ पौडेलले भने, ‘सानै उमेरमा अनुसन्धानको सोच बढाउन यस्ता गतिविधि सहयोगी बन्छन ।’ फरक फरक प्रोजेक्ट तयार पारेर विद्यार्थीले उनीहरुमा रहेको क्षमतालाई बाहिर देखाएका छन ।’

अध्यक्ष पौडेलले विज्ञान विषयका विद्यार्थीका लागि विज्ञान प्रदर्शन कार्यक्रम गरिएको र व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस योजना बनाउनेबारे प्रतिश्पर्धा गराउने जानकारी दिए । त्यस्तै होटल व्यवस्थापनका विद्यार्थीका लागि एकदिने फूड फेस्टिबल आयोजना गर्ने पनि उनले जानकारि दिए । प्रतिभा माविमा आयोजना गरिएको प्रदर्शनी अवलोकन गर्न अन्य विद्यालयबाट पनि विद्यार्थीहरु आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->