बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा उच्च स्तरीय ल्याब सहितको बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ । बिबिए, विज्ञान र बिआइसिटी कार्यक्रमका लागि बहुउदेश्यीय भवनको उपयोग गरिने छ ।
अत्याधुनिक सभाहल पनि सोही भवनमा बनाइने भएको छ । त्रिभूवन विश्व विद्यालय र विश्व विद्यालय अनुदान आयोगको सहमतिपछि नेपालका ४ वटा क्याम्पसमा यस्तो भवन निर्माण हुँदैछ । कुल १ करोड ७२ लाखको लागतमा बनाइने भवनको पहिलो भागका लागि क्याम्पसले १ करोड २८ लाख रुपैयाँको ठेक्का लगाइसकेको छ ।
बुधबार क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले भवनको शिलान्यास गरे । आगामी चैत मसान्त सम्ममा भवन बनिसक्ने गरी खुसी निर्माण सेवाले ठेक्का लिएको छ ।
हाल धौलागिरि बहुमुखी क्याम्पसमा सञ्चालित बिबिए कार्यक्रम नेपालभरमै उत्कृष्ट छ । त्रिभूवन विश्वविद्यालयमा धौलागिरि क्याम्पसबाटै सर्वोकृष्ट अंकसहित विद्यार्थीहरु उत्तिर्ण भएका छन् । चालु शैक्षिक सत्रदेखि क्याम्पसमा बिआइसिटी कार्यक्रम पनि संचालन हुँदैछ । त्यसका लागि ९० जना विद्यार्थीले आवेदन दिइसकेको सिलवालले जानकारी दिए ।
यो भवनमा बन्ने अत्याधुनिक ल्याब विज्ञान, बिआइसिटी र बिबिए समेतको लागि उपयोगी हुनेछ । विश्वविद्यालय अनुदान आयोगले पोखरास्थित पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस लगायतको भवन पनि बन्ने छ । हाल धौलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन र विज्ञान संकायतर्फ विद्यार्थीको आर्कषण बढेको छ । बिबिए कार्यक्रम संचालन भएको दशक पुग्न लाग्दापनि पुरानो र जीर्ण भवनमा सञ्चालित थियो ।





