स्याङ्जा/आँधीखोला गाउँपालिकाले दूधमा प्रति लिटर ४ रुपैयाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
सहकारीले दूध उत्पादन गरी संकलन केन्द्रमा जम्मा गर्ने र जम्मा गरेको तथ्याङ्कको आधारमा पालिकाले अनुदान दिनेछ । सहकारीले बजारीकरण गर्नेगरी दूध संकलन केन्द्र सञ्चालन ल्याएको छ भने पालिकाले ६ वटा वडाबाट हरेक दिन दूध संकलन गर्न थालेको छ ।
गाउँमै उत्पादन हुने दूध एकैठाउँमा संकलनर वितरण गरेसँगै किसानलाई बेचबिखनको झण्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको रहेको छ । पालिकाको सहयोगमा सहकारीले आवश्यकताअनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको पालिका अध्यक्ष अध्यक्ष विश्व पौडेलले बताए ।
दूध संकलन केन्द्र स्थापनासँगै किसानहरू व्यवसायप्रति थप आकर्षित भएको अध्यक्ष पौडेलको भनाइ छ । किसानलाई सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष पौडेलले गाउँमै उत्पादन भएकै दूध गाउँमै बिक्री हुँदा विचौलियाबाट ठगिने प्रवृत्ति अन्त्य हुने अध्यक्ष पौडेलले बताए ।
पालिकाले ५हजार लिटर क्षमता भएको चिलिमे भ्याट, ५ वटा मिल्क एनालाइजरसहित अत्यावश्यक उपकरणमध्ये ५ वटा डिफ्रीज र ५० वटा दूध संकलनगर्ने क्यान उपलब्ध गराएको छ ।





