बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङले विश्व बाल दिवस मनाएको छ । विद्यालयमा गठित बाल क्लबको आयोजनामा दिवस मनाइएको हो ।
बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष नोभेम्बर २० तारिकका दिन मनाइने यो दिवसले सम्पूर्ण बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने काम गर्दछ । बालबालिकाका आधारभुत आवश्यकताहरु पूरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस अन्तर्राष्ट्रिय स्तरमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीबीच म्युजिकल चियर र चेस प्रतियोगिता सञ्चालन गरिएको हो । नगरपालिकाले बालमैत्री शासनलाई अनिवार्य ठानिरहेका बेला विद्यार्थीहरुमा निहित अन्तर्निहित क्षमता प्रस्फुटन गर्ने र विश्व परिवेशसंग परिचित गराउने हेतुले विद्यालयद्वारा विविध विधा एवं दिवसहरुमा यस्ता कार्यक्रम आयोजना गरिदै आएको र बालबालिकामैत्री यस्ता क्रियाकलापले बालमैत्री सुशासनमा सहयोग पुग्ने कुरा प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
कार्यक्रममा विविध विधामा तीन दर्जनबढी विद्यार्थीहरु पुरस्कृत भएका छन् । कार्यक्रम बाल क्लबका अध्यक्ष निश्चल अधिकारीको अध्यक्षता, छात्रा दिव्या गौतमको स्वागत तथा नगर बाल संजाल बागलुङका सचिव अनुशा कँडेलको संचालनमा सम्पन्न भएको थियो ।





