बागलुङ / आगामी मंसिर २७- २९ सम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. २ वाट ४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । आज समपन्न संघिय निर्वाचन समितिको बैठकमा त्यस क्षेत्रबाट भाग लिने ४ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएको एमाले श्रोतले बताएको छ ।
महाधिवेशनका लागि खुलातर्फको २ जनामा सुनिल शेरचन (भीमप्रसाद) र टंक पौडेल, महिलातर्फको १ जनामा करमती पुन र युवातर्फको १ जनामा दान बहादुर श्रीस महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सर्वसम्मत रुपमा चयन भएको महाधिवेशन प्रतिनिधीको औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ ले बिहिवार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दावी प्रस्तुत गरेका थिए । दावी प्रस्तुत गरेकाहरुबीचको छलफलपछि ४ जना सर्वसम्मत भएका हुन ।
यता, बागलुङ निर्वाचन क्षेत्र नं. १ मा ६ जना महाधिवेशनका प्रतिनिधिका लागि दावी गरेका ३९ जना उम्मेदवारका विचमा सर्वसम्मतका लागि छलफल भएपनि बिहिवार साँझसम्म सर्वसम्मत हुन सकेको छैन । शुक्रवार विहान केन्द्रिय नेताहरु सहित उम्मेदवारहरुका विचमा छलफल हुने र सर्वसम्मत नभएमा शनिवार मतदान गरिने कार्यक्रम रहेको निर्वाचन क्षेत्र नं. १ का संयोजक धन वहादुर परियारले बताए ।





