बागलुङ/यतिबेला बडिगाड गाउँपालिका वडा नं. २ को खरवा स्थित त्रिभुवन माविमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भैसकेको छ । अब भने यो विद्यालयले सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स लगायतका अन्य विधामा पनि अध्यापन गराउने लक्ष्य राखेको छ । त्यसका लागि विद्यालयले महायज्ञको बाटो रोजेको छ ।
मंसिरको २१ देखि २८ गतेसम्म श्रीमद भागवत धनधान्यान्चल सप्ताह महायज्ञ लगाएर विद्यालयको क्षेत्रलाई फराकिलो बनाउने लक्ष्य बनाइएको महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद भुषालले बताए । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने भएको हो ।
२०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाउने तयारी छ । सोही अवसरलाई हीरक महोत्सवको रुपमा पनि मनाइने भएको हो । त्यसअघि विद्यालयले मनाएको स्वर्ण महोत्सवमा दश वर्षअघि संकलन गरेको ८० लाख रुपैयाँले विद्यालयको भौतिक पुर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत विद्यालयमा निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष अंग्रेजी माध्यम, कम्प्युटर ल्याब र बाली विज्ञान विषय पढाउन थालिएको थियो । अब भने विद्यालयलाई बहुप्राविधिक बनाउने तयारी भएको प्रधानाध्यापक ढालमणी भण्डारीले बताए ।
महायज्ञमार्फत ५ करोड रुपैयाँ संकलन गरेर विद्यालयलाई कोष बनाइने छ । त्यो कोषलाई सदुपयोग गर्दै बडिगाड गाउँपालिका मात्र नभइ गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको समेत आर्कष शैक्षिक गन्तव्य बनाइने छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको भरपुर सदुपयोग गर्न सक्ने वातावरण बन्दै गएको भुषालले बताए ।
हाल यो विद्यालयमा १ हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय यो विद्यालय आसपासका नीजि विद्यालय समेत बन्द भै सामुदायिकमा पढाउने लहर पनि चलेको छ । यसै क्रममा केही वर्षदेखि यहाँका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीले यही विद्यालयमा पढ्न थालेका छन् । ‘शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबालिका पनि पढ्न थालेपछि जनविश्वास पनि बढेको छ’ विद्यालयका शिक्षक कमल पौडेलले भने, ‘यो विश्वासले विद्यालयले गुणस्तर बढाउने अवसर पनि पाएको छ ।’
मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले विद्यालयले बस संचालन गरेपछि टाढादेखि बालबालिका यहाँ पढ्न आउन थालेका छन् । गुणस्तरीय सेवाबाट प्रभावित भएकाहरुले विद्यार्थी पठाउने गरेकोले संख्या पनि धेरै भएको उनको भनाइ छ ।
महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । स्थानीय धु्रवशरण बस्यालले संकल्प गरे अनुसार महायज्ञमार्फत विद्यालयलाई बहुप्राविधिक बनाउन लागिएको हो । अब संकलन हुने रकमबाट विद्यालयको छात्रावास व्यवस्थापन गरिनेछ । जसका कारण प्राविधिक विषय पढ्नेलाई आवासिय सेवा पनि हुने भएको हो ।
हाल ५२ जना शिक्षक रहेकोमा १६ जना मात्रै स्थायी दरबन्दीका छन् । अन्य अधिकांसलाई अभिभावकको दान सहयोगबाटै राखेर तलबभत्ता दिइएको छ । अतिरिक्त शिक्षक तथा पढाइको समय अतिरिक्त व्यवस्थापनका कारण विद्यालय गुणस्तरमा अब्बल बनिरहेको हो । कोरोना संक्रमणकालमा समेत यहाँ सर्तकता अपनाएर पढाई संचालन भएको थियो ।
मंगलवार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर बिद्यालयले महायज्ञको उद्देश्य तथा हीरक महोत्सव बारेपनि जानकारी गराएको हो । महायज्ञमा ५० लाख रुपैयाँ खर्च गर्ने र ५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।





