शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बिरुवामा आधारभूत अस्पताल

बिरुवामा आधारभूत अस्पताल

अस्पतालको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा विस्तारको लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता गरे ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

स्याङ्जा/जिल्लाको बिरुवा गाउँपालिकाले वडा नं. ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ ।

सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य चौकीलाई आवश्यक पर्ने थप भौतिक पूर्वाधार गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण गरेर १० शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो ।

सात रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल समग्रमा सहयोगी संस्था र पालिकाले एक करोड ७४ लाख ८० हजारमा निर्माण भएर प्रयोगमा आएको हो ।

स्वास्थ्य सेवा विस्तार गर्दै गाउँमै ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो एक्स–रे, सिवीसी, एलएफटी, आरएफटीलगायतका प्रयोगशाला परीक्षण सेवाहरू सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि समेत पोखरा लगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्न अस्पताल सञ्चालन गरेको उनको भनाई छ । अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट थप सुदृढ बनाउँदै लैजाने बताउँदै कुँवरले जसले बिरुवाको जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने उल्लेख गरे ।

स्वस्थ नागरिक नै विकासको मेरुदण्ड भएको बताउदै कुँवरले अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

अस्पतालमा एमविविएस डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, स्टाफ नर्स, अनमी, अहेव र फर्मेसी सुपरभाइजर गरी नौ जना स्वास्थ्यकर्मी रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले बताए । विशेषगरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भएपछि जनजीवनमा सहजता समेत आएको छ ।

गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवाहरु थप गरी अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको पोखरेलले बताए । अस्पतालको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा विस्तारको लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->