आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महायज्ञमा ७ वर्षीय प्रियलको ‘भागवत पाठ’

महायज्ञमा ७ वर्षीय प्रियलको ‘भागवत पाठ’

कक्षा दुईमा अध्ययनरत बडिगाड गाँउपालिका वडा नं. २ सिमलचौरकी ७ वर्षीया प्रियल घिमिरेले भागवत पाठ गर्दा महायज्ञको माहौल पृथक बनेको थियो ।


  • अनिष पाठक
  • मंसिर २७ २०८२, शनिबार

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको शैक्षिक हबको रुपमा विकास भइरहेको त्रिभुवन माविमा चलिरहेको श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञमा एक बालिकाले संस्कृतमा भागवत् पाठ गरेर भक्तजनको मन जितेकी छन् ।

सोही विद्यालयमा कक्षा दुईमा अध्ययनरत बडिगाड गाँउपालिका वडा नं. २ सिमलचौरकी ७ वर्षीया प्रियल घिमिरेले भागवत पाठ गर्दा महायज्ञको माहौल पृथक बनेको थियो । भागवत पाठ सुनेर महायज्ञका वाचक प्रविण दिनबन्धु पोखरेल, बडिगाड गाउँपालिका प्रमुख गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन र भक्तजनले प्रियलको प्रशंसा गरेका थिए ।

गाउँपालिकाकै नमुना विद्यालय त्रिभुवन मावि खर्वाङमा चलिरहेको महायज्ञको चौथो दिन प्रियलले भागवत पाठ गरेकी हुन् । किताबै नहेरी भागवत पाठ गर्दा यति सानो उमेरमै मान्छेले पाठ गरेको ! यिनी त भविष्यमा दिनबन्धु जस्तै बाचक बन्ने भइन् ! यतिका शब्द कसरी कण्ठ भयो होला है भन्दै भक्तजनले प्रियलको प्रशंसा गरेका थिए ।

दशैं बिदामा बडिगाड गाउँपालिका वडा नं. ७ भिमगिठेस्थित मामाघर जाँदा हजुरबुबा चिन्तामणि चालिसेले र घरका हजुरबुबा ज्ञानिश्वर घिमिरेले भागवत संस्कृत पाठ गरेको सुनेर आफुलाई यसप्रति रुचि जागेको प्रियलले कार्यक्रममै सुनाइन् ।

‘हाम्रो बुबा–हजुरबुवाले संस्कृत पाठ गरेर देखेर मलाई पनि यसमा रुचि जाग्यो,’ प्रियलले भनिन्,‘बुबाहरुले अझै पनि जजमान (पुरोहितको) काम गर्नुहुन्छ । यसले गर्दा पनि मलाई अन्यत्रभन्दा बढी आध्यत्ममै रुचि बढ्यो, यसैमा लाग्ने सोच छ ।’

प्रियलकी आमा रमा चालिसे त्रिभुवनमा अध्यापन गराउँछिन् । उनले छोरीले पढ्ने बेलामा पनि किताबको सारंश संस्कृतमै सोध्ने गरेको बताइन् । अहिले विद्यालयमा महायज्ञ चलिरहँदा पनि छोरीले भागवत घरमा दैनिक पाठ गर्ने गरेको चालिसेले बताइन् ।

त्रिभुवन मावि खर्वाङका प्रध्यानाध्यापक ढालमणि भण्डारीले प्रियल जस्तै विद्यार्थीको थप स्तरवृद्धि तथा अन्य विद्यार्थी र अभिभावकमा पनि आध्यामिक चिन्तन होस् भन्नकै लागि महायज्ञ आयोजना गरिएको बताए । विद्यालयले आध्यामक चिन्तनसंगै प्राविधिक शिक्षामा विद्यालयलाई अब्बल बनाउन महायज्ञ चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->