पोखरा/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान पुराउने लक्ष्यसहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका ८ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ ।
पछिल्लो समय पोखरा महानगरपालिका–३२ स्थित गोगन मावि र पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अभियान संचालन गरिएको छ । गोगन माविमा आयोजित कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा सदस्य शोभा विकले यस्ता कार्यक्रमले जनचेतना फैल्याउन सहयोग गर्ने बताइन् । कार्यक्रममा गोगन मावि व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष खगेन्द्र आचार्य र क्याम्पस प्रमुख हेमराज आचार्यले अभियान अत्यन्तै उपयोगी भएको बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले संचालन गरेका थिए ।





