बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिङ्दीमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु

सिङ्दीमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८२, आइतबार

लमजुङ / जिल्लाको क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीमा आइतबारदेखि आँखामा लाग्ने मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शल्यक्रिया छनौटका लागि वडा नं. ७ र ८ मा शुक्रबार साथै वडा नं. ६ मा शनिबार स्क्रीनिङ गरिएको थियो ।

मुटु फाउन्डेशन नेपाल र मनोज एसोसिएसन फ्रान्सको व्यवस्थापन तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गाउँपालिकाले मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा सञ्चालित शिविरको आइतबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले दूरदराजका नागरिकलाई गाउँमै सेवा प्रदान गर्न सिङ्दीमा मोतिबिन्दूको शल्यक्रिया शिविर सञ्चालन गरिएको बताए । यसअघि यस्तै खालको शिविर वडा नं. ४ भुजुङमा पनि सञ्चालन गरिएको जानकारी गराउँदै उनले यसको व्यवस्थापन गर्ने संस्था मुटु फाउन्डेशन र प्राविधिक सहयोगी हिमालय आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरे ।

मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले शहरबाट टाढा रहेका, शहरमा पुगेर उपचार गर्न आर्थिकलगायत विभिन्न समस्या भएका नागरिकलाई सेवा दिन गाउँगाउँमा पुगेर आँखाको मोतिबिन्दू शल्यक्रिया शिविर सञ्चालनका लागि व्यवस्थापन गर्दै आएको बताए । उनले लमजुङकै दोर्दी, मस्र्याङ्दी गाउँपालिकामा यसअघि निःशुल्क मोतिबिन्दूको शल्यक्रिया शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि यसप्रकारका सेवाहरुका लागि सहयोग गर्दै जाने बताए ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीले गाउँघर, दूरदराजमा आयोजना गरिने यस्ता शिविरमा हिमालय आँखा अस्पतालले विगतदेखि नै प्राविधिक सेवा प्रदान गर्दै आएको र यसप्रकारको सेवाबाट आर्थिक अभावले वा विभिन्न कारणले शहर आएर आँखाको उपचार गर्न नपाएका नागरिक लाभान्वित भएको बताए । उनले यसप्रकारका शिविरले समयमै आँखाको समस्या पत्ता लगाएर समयमै उपचार सेवा पाउन मद्दत पुगेको बताए ।

क्व्होलासोथार गाउँपालिका ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीका प्रमुख बिन्तीमाया गुरुङले गरेकी थिइन् ।

सोमबारसम्म सञ्चालन हुने शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. नारायणी रोक्का भट्टराईसहित प्राविधिक टीम र क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, राजु परियार, दिनेश विक, सल्मेभञ्ज्याङ स्वास्थ्य चौकी गिलुङका प्रमुख सन्तोष सुवेदी, पसगाउँ स्वास्थ्य चौकी प्रमुख मिलन रावत, घाम्राङ आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख गोपिनी गुरुङलगायत खटिएका छन् ।

शिविरको पहिलो दिन ३ सय ५५ जनाले सेवा लिएका छन् । पहिलो दिन वडा नं. ६, ७ र ८ का २८ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको छ । शिविरमा २ सय १७ वटा चश्मा, औषधीलगायत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->