पोखरा/ कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ सैतिखोलास्थित गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता तथा माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङको प्रमुख आतिथ्ययतामा उक्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले स्थापनाकालदेखि विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रति धन्यवाद दिए । साथै सामुदायिक विद्यालयको स्थायित्वमा जोड दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने उनले बताए । गौरीशङ्कर माविमा खेलकुद मैदानको अभाव रहेको विद्यालयले पटक पटक पालिकालाई जानकारी दिएको बताउँदै उनले खेल मैदान व्यवस्थापनका लागि पालिकाबाट आगामी दिनमा आवश्यक सहजीकरण गरिने जनाए ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले शिक्षाको महत्वलाई पालिकाले आत्मसात् गर्दै पालिका स्तरबाट गुणस्तरीय शिक्षाका लागि प्राथमिकता आधारमा आवश्यक कदमहरूलाई निरन्तरता दिँदै आएको बताइन् । शिक्षामा आमूल परिवर्तनका लागि, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व, राजनितिकदल एवं शिक्षा प्रेमीहरू एक हुन उनको आग्रह थियो । आफू अध्ययन गरेको विद्यालय रहेको बताउँदै उनले आफ्नो बाल्यकालको विद्यालय जीवनको पनि स्मरण गरिन् ।
प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले विद्यालयको आयव्यय विवरण, शैक्षिक सुधारका लागि विद्यालयद्वारा चालिएका कदमहरू र भावी योजना प्रस्तुत गरे । उक्त अवसरमा पछिल्लो समय कक्षा ८ देखि १० सम्म ३ वटा स्मार्ट बोर्ड जडान गरी प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिएको बताउँदै अन्य कक्षामा पनि आगामी दिनमा निरन्तरता दिने लक्ष्य रहेको उनले बताए । वार्षिकोत्सव समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं. ५ का अध्यक्ष नारायण प्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय अंगेजी शाखा प्रमुख युवराज दवाडी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौरी प्रसाद दाहाल, विद्यालयका संस्थापक प्रतिनिधि, मनीलाल प्रतिष्ठान अध्यक्ष एवं वडा नं. ९ वडा सदस्य रामहरि गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम, अक्षयकोषदाता सूर्य बहादुर योञ्जन, पूर्व विद्यार्थी प्रज्वलन क्षेत्री, लगायतले धारणा राखेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पु¥याउने शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता, जग्गादाता लगायत विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, सर्वोत्कृष्ट नतिजा पुरस्कार लगायतका,दिर्घ सेवा एवं विभिन्न विधाका सम्मान तथा शैक्षिक सँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, पूर्व विद्यार्थी, अक्षयकोषदाता, जग्गादाता लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । विद्यार्थी निलम गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक मीनराज पौडेलले गरेका थिए ।





