पोखरा/ केहि समय अघि राष्ट्रिय पुरुष भलिबल टिममा गण्डकी प्रदेशका खेलाडीले अवसर नपाएको कुराले चर्चा बटुल्यो । गण्डकी प्रदेशका टिम कप्तान सञ्जु व्रिकम शाहको उमेर बढि भएको र नेपाली दर्शकमाझ अति लोकप्रिय क्विक स्पाइकर हिमाल सुनारीको उचाइ नपुगेका कारण टिममा नपरेको कुरा बाहिर आए ।
यो विवादले राष्ट्रिय पुरुष भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलाई राजिनामा दिन बाध्य गरायो । विवादकै बिच गण्डकी प्रदेश भलिबल संघले असोज ९ गते एक पत्र जारी गर्दै नेपाल भलिबल संघले आयोजना गर्ने कुनैपनि प्रतियोगिता नखेल्ने बतायो । त्यो चर्चाको तीन महिना पश्चात अहिले पुनः गण्डकीको भलिबल टिमले नेपाल भलिबल संघले आयोजना गर्ने नवौं एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागिता नजनाएको कुराले चर्चा पाएको छ ।
गण्डकी प्रदेशका खेलाडीलाई खेलमा सहभागिता नगराउनुको पछाडि उक्त विवाद नभइ संघभित्रकै किचलो भएको देखिएको छ । स्रोतका अनुसार भलिबल संघले प्रदेश खेलकुद परिषद् गण्डकीलाई टिम सहभागिताका लागि पत्र पठाएको थियो । परिषद्ले भलिबल संघलाई त्यसबारेमा जानकारी गराउँदै टिम पठाउने गरि छलफल भएको थियो । तर, गण्डकी भलिबलका महासचिव टहल सिंह थापाले बैठक नै नडाकि खेलाडीको सहभागितालाई वेवास्ता गरेको एक प्रतिनिधिले बताए । विभिन्न स्थानमा भलिबल खेलाउन पुगेका उनले टिम सहभागिताबारेमा चासो नदिएको स्रोतको दाबी छ । उनीसँग यस बारेमा बारम्बार फोन सम्पर्क गर्दा कहिले कुन ठाउँमा खेल खेलाउने गएको बताए त कहिले कुन ।
‘राष्ट्रिय टिममा खेलाडी नपर्नु मात्र कारण होइन त्यो विवाद पछि टिम कसरी लाने भन्ने छलफल हुनु पर्दथ्यो तर, महासचिवले समय नदिएकै कारण गण्डकीको टिम नगएको हो’ स्रोतले भन्यो । अहिले एनभीएमा सहभागिता नहुँदा संघले कारवाहि गर्ने भएपछि आर्थिक अभाव देखाएर पत्राचार गरेको हो,’ स्रोतले भन्यो, ‘५ गते टिम दर्ता गर्नुपर्ने ८ गतेसम्म पनि भएन । ८ गते प्रदेश खेलकुद परिषदका सदस्य सचिव ज्युले अध्यक्ष ज्युलाई खबर गर्दा ४ बजेको समय दिए पनि केही भएन ।’ स्रोतका अनुसार संघभित्रको आन्तरिक किचलोसंगै परिषद् संग समेत अन्तरद्वन्द्व रहेको देखिएको छ । संघको गैरजिम्मेवारी कामका कारण नै गण्डकीको टिम एनभीएमा सहभागिता नभएको हो । संघले आम दर्शकलाई विवादकै कारण नगएको देखाउन खोजेपनि वास्तविकता भने फरक देखिएको छ ।





