स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–५ की ८० बर्षीय पवित्रा देवी विकले आँखा देख्न थालेकी छन् । १० बर्ष पहिलाबाट आलि अलि आँखा देख्ने विकले पाँच बर्षबाट दुबैमा मोतियाविन्दु भएपश्चात देख्न छोडेकी थिइन् ।
आर्थिक अभावमा पोखरा पुगेर मोतियाविन्दुको उपचार गर्न नसकेकी विकले वडा नं. २ मा पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग गरिएको निःशुल्क शल्यक्रियामा दुबै आँखा देख्न थालेकी छिन् ।
शौचालय जाँदा घरका परिवारका सदस्यको लानु पर्ने गरेको बताउँदै विकले शल्यक्रिया पश्चात आँखा देखेको बताइन् । एकचोटी आँखाको उपचारमा पोखरा पुगेको बताउँदै विकले रकम नहुँदा औषधी लिएर शल्यक्रिया नगरी घर फर्केको बताइन् ।
विक जस्तै वडा नं. ६ का ८१ बर्षीय छविलाल देवकोटोले यहाँ आयोजित निःशुल्क शल्यक्रियामा देब्रे आँखाको शल्यक्रिया गरेका हुन् ।
दाहिने आँखाको एक वर्ष पहिला पोखरामा पुगेर पाँच दिन समय लगायर ३० हजार खर्च गरेर शल्यक्रिया गरेका देवकोटाले पालिकामै देव्रे आँखाको निःशुल्क सफल शल्यक्रिया गरेका हुन् ।
पोखरा गएर एक आँखाको शल्यक्रियामा पैसा खर्च भएको र पाँच दिन लागेको बताउँदै देवकोटाले यहाँ एक रुपियाँ खर्च नगरी दुई दिनमै मोतियाविन्दुको शल्यक्रिया गरेर र पुर्ण रुपले देख्न थालेको बताए ।
शिवरमा ८८ बर्षीय प्रेम बहादुर गुरुङ र ४० बर्षीय सन्तोष गुरुङको मोतियाविन्दुको शल्यक्रिया गरेका हुन् ।
पुस ७, ८ र ९ गते पालिकाले वडा वडामा पुगेर आयोजना गरेको आँखा उपचार कार्यक्रममा ५७३ जनाले उपचार गरेकोमा ७६ जनामा मोतियाविन्दु पहिचान भएको थियो । पहिचान भएकामध्ये पुस १५ गते ४३ जना र १६ गते १८ गरेर ६१ जनाको
सफल शल्यक्रिया गरिएको हो ।
आर्थिक अभावमा आँखाको उपचार नपाएका बृद्ध आमाबुबाको गाउँमै पुगेर पहिचान गरी शल्यक्रिया गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । पालिकाका नागरिक कुनै रोगबाट प्रभावित हुनु नपर्ने बताउँदै तिवारीले समस्या भएमा पालिकालाई तत्काल खबर गर्न आग्रह गरे ।
निःशुल्क शल्यक्रियामा डा. कृष्ण गुरुङले सबै मोतियाविन्दुका विरामीको सफल एसआईसिएस शल्यक्रिया गरेका थिए भने डा. गुरुङलाई सात जनाको टोलीले सहयोग गरेको हो । निःशुल्क शल्यक्रिया शिविरमा बिरामीहरूलाई निःशुल्क औषधी र चस्मा समेत वितरण गरिएको हो भने खाना तथा बसोबासको व्यवस्था पालिकाले गरेको हो ।
शल्यक्रियाले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुगेको छ भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।





