बागलुङ/बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवासीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविको ४५ औं वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय बनाउनुपर्नेमा जोड दिए ।
श्रेष्ठले गुणस्तरिय शिक्षा प्रदान गर्नका निम्ती नगरपालिकाले विद्यालय मर्जको काम गरेको हुँदा अब आवासिय विद्यालय बनाउनेमा पनि जोड दिने बताए । उनले गत आ.व.मा विद्यालय मर्जर निर्णयले शिक्षा क्षेत्रमा केही परिवर्तन आउने आशा रहेको बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा नवनिर्मित २१ कोठे भवनको उद्घाटन गरिएको छ । जिल्लाकै नमुना सामुदायिक विद्यालयको रुपमा रहेको विद्यालयमा ७ सय जनाभन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् । तीमध्ये १६४ जना विद्यार्थी अन्य जिल्ला र स्थानबाट यस विद्यालयमा अध्ययनका लागि आएको प्रध्यानाध्यापक एकनाथ रिजालले जानकारी दिए ।
विद्यालयमा छात्रबासको समेत व्यवस्था गरिएको छ । विद्यालयले हरेक वर्ष असल अभिभावक छनौट गरी सम्मान गर्दै आएको छ । विद्यालयले आगामी दिनमा विग स्कुलको अवधारणा आगाडी सारेको छ भने आइसिटी हलसहित शैक्षिक संग्राहलयलाई व्यवस्थित गर्ने योजना बनाएको प्रधानाध्यापक रिजालले बताए ।
बार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, जनताधन माविका प्रअ कुमार पौडेल, पूर्व विद्यार्थी एवं कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुजन शर्मा विद्यार्थी अग्रता विकलगायतले बोलेका थिए ।
कार्यक्रममा डा. सुजन शर्मासहित वडा नंं. १३ का वडा अध्यक्ष नारायण पौडेल, स्थानीय समाजसेवी जगन्नाथ पौडेल, इन्द्र पौडेल, पूर्व विद्यार्थी साधना पौडेल, सौगात पौडेल, सविना पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रअ रिजालले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सहयोगदाता, पुर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।





