आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यालय सुधार्ने जिम्मेवारी समुदायको पनि हो : नगरप्रमुख श्रेष्ठ

विद्यालय सुधार्ने जिम्मेवारी समुदायको पनि हो : नगरप्रमुख श्रेष्ठ


  • ढाेरपाटन संवाददाता
  • पुष २१ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित जनमत माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मेवारी समुदायको पनि रहेको बताएका छन ।

श्रेष्ठले शिक्षक अभिभावकको सहकार्यमा विद्यालयको शैक्षिक विकास सम्भव रहेको बताए । ‘हामी हाम्रा नानीबाबुलाई पढ्न पठाउँछौ’ नगरप्रमुख श्रेष्ठले भने, ‘विद्यालय गएर के पढेका छन्, कस्तो पढेका छन् भन्नेबारे घरमा हामीले पनि हेर्ने र बालबालिकालाई सोध्ने बानी गरेमा नानीबाबुको पढाई र शिक्षकको शिक्षण विधिबारे अभिभावकले चासो व्यक्त गर्नुपर्छ ।’

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सामुदायिक विद्यालयको विकासका निम्ती अभिभावकको सक्रियता आवश्यक रहेको बताए । उनले विद्यालयको हरेक गतिविधिबारे आम अभिभावकले चासो दिएमा मात्र शैक्षिक गुणस्तर बढ्ने बताए ।

कार्यक्रममा विद्यालयका मावि संरक्षक एवं गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका उपसिचव डिल्लीराम रिजाल, बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, गणेश मावि नारायणस्थानका प्रध्यानाध्यापक एकनाथ रिजाल, भुपू सैनिक संघ पैयुँपाटाका अध्यक्ष रेशमबहादु खत्री, विद्यालयका संस्थापक प्रध्यानाध्यापक नरप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भवानी प्रसाद रिजालले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त पौडेलले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सिगाना माविका पूर्व प्रध्यानाध्यापक गोपाल कुमार शर्मा, त्रिभुवन माविका पूर्व प्रध्यानाध्यापक चुडामणी शर्मा पौडेललाई सम्मान गर्नुका साथै विद्यालयलामा सहयोग गर्ने दाता, विद्यार्थी, शिक्षक लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

विद्यालयमा हाल १ सय ८६ जना विद्यार्थी अध्ययनरत छन् । बालविकासदेखी कक्षा १० सम्म संचालन गरिएको विद्यालय यसै वर्ष शैक्षिक बुलेटिन समेत प्रकाशन गरेको छ । बुलेटिनमा हालसम्म विद्यालयलाई विभिन्न तहमा सहयोग गर्ने सहयोगदाताको विवरण उल्लेख गरिएको विद्यालयका प्रधानध्यापक पौडेलले जानकारी दिए ।

कक्षा १० सम्म नै अंग्रेजी माध्ययमबाट पठनपाठन हुने विद्यालयमा आगामी दिनमा कक्षा ११, १२ पनि संचालन गर्ने योजना बनाएको छ । विद्यालयले हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पनि सम्मान गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->