मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कास्कीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना

कास्कीमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • ढाेरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा / आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र रामघाट, क्षेत्र नम्बर २ का लागि सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइड र क्षेत्र नम्बर ३ का लागि गण्डकी प्रदेशको कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको प्रशासन तथा सहकारी विकास महाशाखाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नम्बर ३ को कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको छ ।कास्कीमा मुख्य निर्वाचन अधिकृतमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासे रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि सीता रेग्मी र क्षेत्र नम्बर २ कालागि निर्मलाकुमारी खड्का निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन यही माघ ६ गतेका दिन हुँदै छ । त्यसअअघि निर्वाचन सम्बन्धि कामलाई अघि बढाउन निर्वाचन अधिकृतको कार्यालय खोलेर कर्मचारी पनि पठाउने तयारी गरिएको हो । कास्की सहित देशभरका सबै १६५ वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको हो । आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतर ८८ जना निर्वाचन अधिकृतहरु तोकिसकेको छ । जिल्ला न्यायाधीशहरुबाट मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवस्यक– बेलबासे

कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सम्पन्न गर्नमा सबै पक्षको आवस्यक सहयोग र समन्वय आवस्यक रहेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बोल्दै उनले यसका लागि राजनीतिक दलहरु खेलाडीको भूमिकामा रहने जनाए । ‘निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सम्पन्न गर्नमा सबैको सहयोग आवस्यक छ’, उनले भने, ‘सबै पक्षबाट सहयोगको अपेक्षा राखेका छौ । पत्रकारको भूमीका पनि महत्वपूर्ण रहने भएकाले सही सूचना सम्प्रेषण हुनुपर्छ ।’ उनले जनताले चुनेका प्रतिनिधिबाट देशको कानुन बन्ने र जनताले अनुभूती हुनेगरी कानुनी शासनको सर्वोच्चता हुने बताए ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था तयार गरी कार्यान्वयनमा गइसकेको बताइन् । उनले १ हजार ९ सय ७८ सुरक्षाकर्मी परिचालन गरी मतदान केन्द्र लक्षित गरी नियमित चेकजाँचको व्यवस्था मिलाइएको पनि बताइन् । राजनीतिक दलहरुसंग आवस्यक समन्वय भइरहेको र सवारी साधनलगायत स्रोत साधनको व्यवस्थापनमा पनि जुटिएको भन्दै उनले गत भदौ २४ मा कास्की कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीति पनि तय गरिएको जनाईन् । ‘शान्ति सुरक्षाको हिसावले हामी तयारी अवस्थामा छौ’, प्रजिअ शर्माले भनिन्, ‘निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्छु ।’

प्रदेश निर्वाचन कार्यालय पोखराका अधिकारी नारायण ढकालले निर्वाचन आयोगको कार्यतालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिएको बताए । उनले कास्कीमा १५३ मतदानस्थलमा ३६३ मतदान केन्द्र रहेका र ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->