पोखरा/गत शनिबार तनहुँमा ३ जनाको हत्या भयो । हत्याले सबैलाई त्रसित बनायो । प्रहरीले तत्काल अनुसन्धान गर्दै जाँदा राजमार्गमा पुगेर रोकियो । तर, मंगलबार एक जना पक्राउ परे । उनले आफूले हत्या गरेकोसमेत स्वीकारे ।
३ जनाको हत्या गर्ने व्यक्तिले आफूले हत्या गरेको स्विकार मात्र गरेनन्, घटनामा प्रयोग भएको चक्कुसमेत देखाए । घटना भएको एक साता बित्दासमेत प्रहरीले उनलाई सार्वजानिक गर्न सकिरहेको छैन । कारण हो ठोस प्रमाण नपुग्नु ।
प्रहरीले कुमार नेपाली सार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा कुमार उनै मृतकका साथी रहेको खुलेको थियो । कुमार आफैले चक्कु देखाएका थिए भने घटनाका दिन लगाएको कपडासमेत प्रहरीलाई दिए । हत्यापछि झाडीमा फालिएको चक्कु तनहुँ प्रहरीले विधि विज्ञानमा परिक्षणको लागि पठाइएको थियो ।
यतिबेला हत्या गर्दा कुमारले लगाएको कपडा प्रहरीले खोजीरहेको छ । कुमारले भने हत्या गर्दा लगाएको कपडा प्रहरीलाई देखाएका छन् । तर, सोही कपडा लगाएर हत्या गरेको प्रहरीका अनुसन्धान अधिकारीहरु मान्न तयार छैनन् । किनभने कुमारले देखाएको कपडामा रगत देखिदैन । कुमारले हत्या गर्दा लगाएको कपडा साह्रै फोहोर भएको कारण पनि रगत देखिन गाह्रो भएको छ । कपडामा रगत नदेखिँदा बलियो प्रमाण नभएको अनुसन्धान अधिकारीको भनाइ छ । कपडा गोबरले लतपतिएको कारण रगत नदेखिएको हुनसक्ने प्रहरीको भनाइ छ ।
कुमार नेपाली मृतककै साथि भएको प्रहरी स्रोतको दाबी छ । उक्त दिन मादक पदार्थ सेवन गरेर सबै बसेका थिए । उनिहरुबीच समान्य भनाभन भएको थियो । सोही भनाभन भएपछि कुमाले मृतक नारनलाई मुख छाडेका थिए । त्यसको रिसमा आफूले साथीको हत्या गरेको कुमारले प्रहरी सामु प्रारम्भिक बयान दिएका छन् । नारायणको पछि अन्य साथीहरूको हत्या गरेको कुमारको बयान छ ।
कुमारले हत्या गर्न प्रयोग गरेको चक्कु पनि अनुसंधानमा खटिएका प्रहरीलाई देखाएका छन् । गत शनिबार शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जंगलमा एक शव फेला परेको थियो ।
मृतक मध्ये २ जनाको सनाखत भएपनि १ जनाको अझै हुन सकिरहेको छैन् । उनको नाम थाहा भएपनि ठेगाना थाहा हुन नसक्दा पहिचान खुल्न नसकेको हो । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका ४१ वर्षीय नारायण विक र भीमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापा रहेका छन् ।





