पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वचनका लागि राजनीतिक दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारहरु धमाधम चयन गरिरहेका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरुले गण्डकी प्रदेशलगायत देशभरकै १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरिरहेका हुन् ।
नेपाली कांग्रेसले भने आन्तरिक किचलोका कारण अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिसकेको छैन् । उम्मेदवार चयनमा नेकपा एमाले अग्रस्थानमा छ । उसले गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रसहित देशभरका एकाध बाहेक क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छ । निर्वाचनका लागि समानुपातिकतर्फ मनोनयन दर्ता भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते हुँदैछ । दलहरुले कुन क्षेत्रमा पार्टीको कस्तो प्रभाव रहेको र कुन उम्मेदवारलाई छान्दा जित हासिल गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छन् । दलहरुले यसपटक युवा उम्मेदवार प्राथमिकतामा पारेको देख्रिन्छ ।
नेकपा एमालेले गण्डकी प्रदेशको नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट भगीरथ सापकोटा र २ बाट तिलबहादुर (तिलक) महत क्षेत्रीलाई टिकट दिएको छ । सापकोटा उद्योग व्यवसाय क्षेत्रमा क्रियाशील छन । एमाले केन्द्रीय सदस्य र नवलपुरको इन्चार्ज समेत रहेका महत २०७४ सोही क्षेत्रबाट बिजयी भएका थिए भने गत निर्वाचनमा पराजित भएका थिए । यसैगरी गोरखा १ बाट आर.सी. लामिछाने र २ बाट मिलन (चक्रे) गुरुङले टिकट पाएका छन् । लामिछाने एमाले केन्द्रीय सदस्य हुन । यसअघि तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले जितेको क्षेत्र नम्बर २ मा यसपटक एमालेले गुण्डा नाइके मिलन (चक्रे) गुरुङलाई उठाएको छ । ज्यान मार्ने उद्योगदेखि विभिन्न मुद्दामा पटक पटक पक्राउ परेका, हप्ता असुलीदेखि अभद्र व्यवहारसम्मका अपराधमा संलग्न रहेका गुण्डा नाइके चक्रेलाई टिकट दिइएको भन्दै एमालेको आलोचनासमेत भइरहेको छ । नेकपाबाट अहिले लेखनाथ न्यौपाने उम्मेदवार छन् भने रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी फेरि पनि उम्मेदवार हुने निश्चित छ ।
लमजुङबाट पृथ्वी सुब्बा गुरुङले टिकट पाएका छन । उनी २०४३ सालदेखि चुनाव लड्दै आएका व्यक्ति हुन । आठौं पटक उम्मेदवार बनेका गुरुङ संघीय मन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका छन् ।
तनहुँ १ बाट भगवती न्यौपाने, २ बाट केदार सिग्देल उम्मेदवार हुने भएका छन् । न्यौपाने यसअघि राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री भइसकेकी हुन । यसअघिको निर्वाचनमा निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले यही क्षेत्रबाट जितेका थिए । अहिले पनि रास्वपाले वाग्लेलाई यही क्षेत्रको उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले २०७४ सालमा तत्कालीन नेकपाबाट चुनाव जितेका थिए । तर २०७९ को प्रदेश सभा निर्वाचनमा उनी कांग्रेसका जीतप्रकाश आलेसँग पराजित भएका थिए ।
स्याङ्जा १ बाट मीनप्रसाद गुरुङ र २ बाट खिमबहादुर थापा उम्मेदवार भएका छन् । गुरुङ एमाले गण्डकीका उपाध्यक्ष हुन् । उनले २०७४ सालमा गण्डकी प्रदेश सभामा जित हासिल गरेका थिए । थापा भने कालीगण्डकी गाउँपालिका अध्यक्ष हुन् । उनले २०७४ र २०७९ को दुवै निर्वाचनमा पालिका प्रमुख जितेका हुन । गाउँँपालिका महासंघको केन्द्रीय महासचिव रहेका खिमबहादुर दुग्ध विकास संस्थानको पूर्व प्रमुख समेत रहेका थिए । यस्तै म्याग्दीबाट हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ २०७९ को चुनावमा पनि उम्मेदवार भएर कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका थिए ।
कास्की १ बाट पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर वैरागी उम्मेदवार बनेका छन । बैनबहादुर पहिलोपटक संसदीय निर्वाचन लड्दैछन् । कृष्ण थापा भने क्षेत्र नम्बर २ को सदाबहार उम्मेदवार जस्तै बनेका छन् । यसअघिको स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेश सभाको सांसद छँदै राजीनामा दिएर पोखरा महानगरको मेयर लड्न गएका थापा एमाले पृष्ठभूमिबाटै आएका एकीकृत समाजवादीका धनराज आचार्यसँग पराजित भएका थिए । यसअघि निर्वाचित बैरागीले अहिले पनि टिकट पाएका हुन ।
बागलुङ १ बाट हिराबहादुर केसी र २ बाट मञ्जु शर्मा चालिसे फेरी चुनाव लड्ने भएका छन । केसी ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए भने चालिसे ओली प्यानलबाट केन्द्रीय सदस्य चुनिएकी थिइन् । दुवै उम्मेदवार यस अघिको निर्वाचनमा हार व्यहोरेका पात्र हुन । मुस्ताङबाट ईन्द्रधारा विष्ट र मनाङबाट पोल्देन छोपाङ गुरुङ निर्वाचनको मैदानमा ओर्लिएका छन् । विष्ट २०७४ सालमा मुस्ताङ प्रदेश सभा १ बाट चुनाव जितेर सांसद बनेका थिए भने अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसका नम्डु गुरुङसँग पराजित भएका थिए । गुरुङ २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका थिए भने २०७९ मा कांग्रेसका टेकबहादुर गुरुङसँग पराजित भएका थिए ।
पर्वतबाट पदम गिरी तेस्रो पटक प्रतिस्पर्धामा उत्रिदै छन् । २०७४ सालमा पहिलो पटक टिकट हात पारेका गिरीले तत्कालीन नेकपाबाट जोशीलाई हराएका थिए भने २०७९ मंसिरमा एक्लैले गठबन्धनका जोशीलाई दोस्रोपटक हराएका थिए । गिरी मन्त्रीदेखि पार्टी संसदीय दलको प्रमुख सचेतकसम्म भइसकेका छन् । पर्वतमा नेकपाले मनोहरी तिमिल्सिनालाई उम्मेदवार बनाएको छ । तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरसकेको व्यक्ति हुन ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ, २ मा हेमबहादुर थापा र ३ मा प्रेम पौडेललाई टिकट दिएको छ । गुरुङ साविक माओवादी केन्द्र, थापा सावि नयाँ शक्तिबाट माओवादी हुँदै नेकपा छिरेका र पौडेल भने एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका नेता हुन् ।
अन्य पार्टीहरुले पनि प्रदेशका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दैछन । सोमबार बेलुकीसम्म उम्मेदवारको टुंगो लाग्ने सम्बन्धित पार्टी नेतृत्वले बताएका छन् । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गण्डकी प्रदेशका १९ निर्वाचन क्षेत्रमध्ये सबै भन्दा बढी ९ सिट जितेर कांग्रेस पहिलो दल बनेको थियो । नेकपा एमालेले ५ क्षेत्र माओवादी केन्द्रले २, राष्ट्रिय जनमोर्चा र रास्वपाले एकएक सिट जितेका थिए ।





